धरानः नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’ तर्फ अनिल श्रेष्ठ प्यानल विजयी बनेको छ ।
धरान–८ सभागृहस्थित मतदान केन्द्रमा सम्पन्न मतगणना अनुसार श्रेष्ठले सभापतिमा २७४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी मदन ढकालले ९४ मत मात्र पाए । उपसभापतिमा श्रेष्ठ प्यानलकी झुमादेवी राईले २८१ र प्रदीप शाक्यले २३७ मत पाएर विजयी भए भने ढकाल प्यानलका उम्मेदवार कुमार मोक्तानले ९६ र मनोज सुब्बाले ९७ मत पाए ।
यसैगरी सचिवमा श्रेष्ठ प्यानलका युवराज शंकरले २८० र राजेन्द्र राईले २४४ मत पाएर विजयी बनेका छन् । सचिवमा उम्मेदवार ढकाल प्यानलका राजेन्द्रकुमार राईले ९९ र सुनिल श्रेष्ठले ९१ मत ल्याएका छन् । यस्तै, सहसचिवमा श्रेष्ठ प्यानलका रमिता श्रेष्ठले २५६ र हरिप्रसाद ओझाले २१८ मत पाएर विजयी भए । सोही पदमा ढकाल प्यानलका विष्णुमाया गुरुङले ११२ र कमलप्रसाद भट्टराईले १०० मत ल्याए ।
यस्तै, प्रदेशसभा ‘ख’ तर्फको निर्वाचनमा सभापतिमा मुरारी भट्टराईसहित पदाधिकारीमा उनको प्यानल विजयी भएको छ । उनीहरु दुवै संस्थापन इतरका हुन् ।
हालै सम्पन्न मतपरिणामअनुसार खतर्फ मुरारी भट्टराईको प्यानलै विजयी बनेको हो । संस्थापनबाट अजयकुमार राईको समूह प्रतिस्पर्धामा रहेको थियो । भट्टराई कोइराला पौडेल समूहको प्रतिनिधित्व गर्दै मैदानमा थिए ।
धरान–१७ स्थित एन्फा टेक्निकल सेन्टरमा रहेको मतदान केन्द्रमा सम्पन्न मतगणनाअनुसार सभापतिमा भट्टराईले १३९ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी अजय राईले १०८ मत पाएका छन् ।
यस्तै, उपसभापतिमा भट्टराई प्यानलका चन्द्रबहादुर मगर अनिलले १५५ मत र डिल्लीशेर राईले १३० मत पाएर विजयी भए । उपसभापतिमा राई प्यानलका सन्देश श्रेष्ठले ९२ र अमृतबहादुर खड्काले ८२ मत पाएका छन् ।
यस्तै, सचिवमा भट्टराई प्यानलका राजेन्द्र खड्काले १४४ र विजय घिमिरेले १४३ मत पाएर विजयी भए भने राई प्यानलका उम्मेदवार संगीता राईले १२० र सुरजप्रसाद अधिकारीले ६३ मत पाएका छन् । यसैगरी, सहसचिवमा भट्टराई प्यानलका उम्मेदवार रोहित काफ्लेले १५१ र मञ्जु राईले १४४ मत पाएर विजयी भएका छन् भने राई प्यानलका श्रवण धामीले ८१ र विक्रम राईले ८५ मत पाएका छन् । यो मत परिणामले सुनसरी क्षेत्र नं. १ मा सुजेन्द्र तामाङको प्यानलको सम्भावना बढेर गएको छ । उनले नै विजयी बनेका नेताहरुलाई बधाई दिँदै दुवैजनाको हात उचालेर तस्वीर खिचाएका छन् । यसले पनि उनले नै सुनसरी क्षेत्र नं. १ मा जितेको छनक दिन खोजेका छन् । तर मत परिणाम नआउञ्जेलसम्म यसै भन्न सकिन्नँ । यसको निख्र्यौल आगामी ७ गतेले निर्धारण गर्नेछ । मेयर समेत भइसकेका तिलक राईप्रति कांग्रेसजनमै असन्तुष्टि बढेकोले पनि उनको पोल्टामा मत जाने सम्भावना बलियो बनेर गएको कांग्रेस नेताहरु नै बताउँछन् । अहिले मत ल्याउनेहरु कोइराला–पौडेल पक्षधर मानिएकाहरु हुन् ।
तस्वीरहरुः लक्ष्मण थापा












