धरानः प्रदेश १ का सामाजिक विकासमन्त्री जयराम यादवले प्रदेश १ को नाम पहिचानको आधारमा हुनुपर्ने धारणा राखेका छन् ।
इलामको चुलाचुली कमलस्थित फल्गुनन्द सेवा सङ्घद्वारा निर्माण भएको माङ्गेन हिमको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले किरात धर्म र लिम्बुवानलाई समेटेर नाम राख्नुपर्ने धारणा राखे । ‘अहिले सङ्घीय गणतन्त्र नेपाल हो, खासगरी प्रदेशको नामाङ्करण गर्दा पञ्चायकालकै नाम राख्न खोजिएको छ, गणतन्त्रसम्म आइपुग्दा पनि अहिले शासकले पनि पहिलाकै नाम राख्न खोजिरहेका छन्, त्यसैले प्रदेशको नामाकरण गर्दा पहिचानका आधारमा हुनुपर्छ ।’ उनले भने ।
अहिले पनि नदीनालाकै नामबाट राख्न खोज्नु गलत भएको उनको भनाइ थियो । ‘नदीनालाकै नामबाट नाम राख्दा किरात र लिम्बुवान गएर पहिचान कहाँ खोज्ने ?’ उनले भने, ‘यसो भयो भने संघीय गणतन्त्र नेपालको के काम ?’
२१ औं शताब्दीमा आफूहरुले उठाएको मुद्दा सही भएको उनको धारणा थियो । उनले पहिचानका लागि लडिरहने बताउँदै पहिचानका कुरा उठाउन खुट्टा नकमाइ लाग्न आग्रह गरे उनले बहुभाषिक पाठशालालाई सक्दो सहयोग गर्ने पनि बचन दिए । कार्यक्रम संघका अध्यक्ष डम्बरकुमार तुम्बापोको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा माङहिम उद्घाटनलगायतका कार्यक्रम आयोजना भएको थियो ।