धरानः धरानस्थित कोशी राजमार्गमा पर्ने छाताचोक-भानुचोक सडक खण्डमा खाल्डाखुल्डी बढेका छन् ।
अहिले सो सडक खण्डमा ठूलोसानो गरेर १० वटाभन्दा बढी खाल्डा परेका छन् । यस्तो ‘खाल्डे सडक’ले दुर्घटनाको जोखिम बढाएको छ ।
यसअघि पनि ‘खाल्डे सडक’ भनेर चर्चामा आइरहने यो सडकमा अहिले पनि खाल्डा पर्न थालेका छन् । ४–५ वटा खाल्डा त दुर्घटना निकै ठूला समेत छन् । त्यो खाल्डा परेको पनि वर्षातको समयदेखि नै हो तर पनि अहिलेसम्म मर्मत सम्भारमा सम्बन्धित निकायको ध्यान जान सकेको छैन । मुख्य सडकमै परेको खाल्डोले सवारीचालकलाई सास्ती भएको छ । छाताचोक-भानुचोकको सो सडकमा दिनहुँ सयौं सवारी दर्गुछन् । त्यहाँ अफिस समयमा त जाम नै हुने गरेको छ । खाल्डाखुल्डीले गर्दा बिहान–बेलुका सडक जाम हुन थालेको छ । खाल्डाखुल्डी बनेर सर्वसाधारण घाइते समेत बनेको स्थानीयबासीले बताएका छन् ।
सडकमा जताततै भएको खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढाएको धरान–१५ का सवारी चालक भरतकुमार श्रेष्ठ बताउँछन् । उनले आफैले थाहा पाएदेखि हालसम्म तीनवटा स्कुटी, दुईवटा मोटरसाइकल लडेको बताए । उनले राम्रोसँग सडक निर्माण नहुँदा खाल्डाखुल्डी पुरेपनि फेरि अर्को ठाउँमा खाल्डाखुल्ने हुने गरेको समेत बताए ।
धरानको मुख्य रोडमै खाल्डाखुल्डी पर्दा धूलो उड्ने साथै नकारात्मक धारणा समेत जन्माउन थालेको समेत सवारी चालक सञ्जु राईले बताइन् । उनले बाटोमा खाल्डाखुल्डी, बाटो बिग्रिएको कारणले सावधानी अपनाउँदा अपनाउँदै पनि दुर्घटना हुनसक्ने बताइन् ।
धरानको मुख्य सडक विभागअन्तर्गत पर्दछ । कोशी राजमार्गअन्तर्गत धरानमा सेउती खोलादेखि धरान–१३ को बेस क्याम्पसम्मको क्षेत्रका सडकको मर्मत तथा निर्माणको क्षेत्राधिकार सडक विभागकै हो तर पनि काम हुन सकेको छैन । धरान उपमहानगरपालिका सडक निर्माणमा देशकै लागि उदाहरणीय बनेको छ तरपनि सडक मर्मतमा ढिलाइ भइरहेको छ ।
तस्वीरहरुः एलिना राई





