विराटनगरः आमाले लौरीले हिर्काउँदा मोरङको कटहरी गाउँपालिकामा एक युवाको ज्यान गएको छ ।
घरायसी विवादका क्रममा शनिबार राति आमाले कुटपिट गरेकी थिइन् । कटहरी-५ का राजेन्द्र उराँवको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
मादकपदार्थ सेवन गरी घर पुगेका ३५ वर्षीय उराँवले झगडा गरेपछि ५५ वर्षीया आमा बातियोले लट्ठीले हिर्काएकी थिइन् । घाइते बनेका उनको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको आइतबार राति करिब १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिट गरेर छोराको हत्या गर्ने आमालाई पक्राउ गरी घटनाका बारेमा अनुसन्धान थालिएको जानकारी उनले दिए ।