Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा पनि पुरुष पीडित बढ्दै

हाम्रो कोशी आवाज
मंसिर १४ २०७८, मंगलबार
धरानमा पनि पुरुष पीडित बढ्दै

धरानः धरान-१४ का आयुष राई घरको अवस्था सुधार गर्न श्रीमतीलाई घर जिम्मा लगाएर रोजगारीका लागि विदेश हान्निए । खाडी मुलुक मलेसिया पुगेर पसिना बगाए । विदेशमा काम गर्दा कमाई पनि राम्रै भयो । अलिअलि भएको ऋण तिरेपछि केही कमाउने र सुखको जीवन बिताउने सपना बुनेर विदेशी हान्निएका उनीमाथि बज्रपात आइलाग्यो ।
अहिले उनको साथमा अहिले न सम्पत्ति छ, न त श्रीमती नै । सम्पत्ति समेत लिएर श्रीमती अर्कैसँग टाप कसिन् । किनेको अलिकति जग्गा पनि उनकै नाममा थियो । उनकी श्रीमती ५ वर्षकी छोरीलाई विचल्ली पारेर बेपत्ता बनिन् । ‘मेरो ५ वर्षको छोरीलाई विचल्ली पारेर उनी अर्कैसँग टाप कसिन्’, उनले भेटमा भने, ‘मेरी छोरीको कारणले म नेपाल फर्किनपुरयो । सानो छोरी छ कसरी हुर्काउने भन्ने चिन्ता थपिएको छ ।’ मैले श्रीमतीलाई यतिसम्म विश्वास गरेको थिएँ कि तर आज धोका र पीडा मात्रै पाएँ ।’
अहिले उनको सपना चकानाचुरझैं भएको छ । भएको सबै पैसा, गरगहना र घडेरी नपाउने अवस्थामा उनी छन् । श्रीमती अर्कैसँग भागेपछि विदेशी भूमिमा दुःख गरेर आफूले कमाएको सम्पत्ति फिर्ता गराउन उनी लागिपनि परे । तर पनि अहिलेसम्म सफल हुन नसकेको उनले दुखेसो पोखे ।
यस्तै, धरान–११ का सविन राई (नाम परिवर्तन) ले यतिञ्जेल कमाएको सम्पत्तिको त के कुरा ? सँगै बाँच्ने, सँगै मर्ने कसम खाएर लगनगाँठोमा बाँधिएकी श्रीमतीले छोडेर जालिन् भन्ने कहिल्यै सोचेको पनि थिएनन् । उनकी श्रीमती तरकारी किन्न भनेर घरबाट निस्केकी थिइन् । घर आउदिनँ भनेर घरमा खबर गरिन् । र त्यसपछि उनी घर फर्किएकी छैनन् । ‘उनको भोलि कहिले आउने हो मलाई थाहा छैन’, उनी भन्छन्, ‘मलाई भाग्यले ठग्यो, परिवारकै सुख–शान्तिका लागि त म विदेश गएको थिएँ ।’ श्रीमतीसँगको सम्बन्धमा यत्तिका वर्षसम्म कुनै उत्तारचढाव नआएको र अत्यन्तै राम्रो सम्बन्ध भएकाले आफूले अविश्वासको कुनै शङ्कासम्म नलागेको तर अहिले आएर धोका पाएको उनले बताए ।
यी त प्रतिनिधि पात्र मात्रै हुन् । धरानमा पनि दिनदिनै पुरुष पीडित बनेको घटना बढ्न थालेको छ । यस्तो घटनाले समाजमा नकारात्मक प्रभाव पार्दै लगेको छ । कुनै पनि पुरुषले महिलालाई विश्वास नगर्ने, श्रीमतीलाई पैसा नदिने, शंका गर्ने, जसले गर्दा जीवनयापन समेत प्रभाव पर्दै गएको छ । परिवारकै लागि भनेर विदेशी भूमिमा दुःख गर्ने युवाहरुमाझ पीडा थपिँदो छ ।
इलाका प्रहरी कार्यालय धरानकी महिला सेलकी प्रमुख प्रहरी सहायक निरीक्षक रेश्मा न्यौपानेले दुई महिनाको अवधिमै ११ जना पुरुषले आफू पीडित बनेको भन्दै उजुरी दिएको बताइन् । उनका अनुसार यसमा बढी श्रीमतीले पैसा खाएर बेपत्ता भएको उजुरी बढी परेको छ । ‘अहिले त दिनदिनैजस्तो यस्ता केस आउन थालेका छन्’, उनी भन्छिन्, ‘यो दुःखद् पक्ष हो, धनमाला हरायो, श्रीमती बेपत्ता भइन्, खोजी गरिपाउँ भन्ने उजुरी नै धेरै पर्ने गरेको पाइएको छ, विशेषतः वैदेशिक रोजगारका कारण यस्तो समस्या थपिँदो छ ।’
पछिल्लो समय घरमा आउँदा न श्रीमती, न धनमाल हुने गरेको छ । श्रीमती अर्कैसँग गएपछि पनि पुरुषले पीडा भोग्ने गरेको उनले बताइन् । यसले पारिवारिक विखण्ड बढाएको उनी बताउँछिन् । ‘परिवार त बिग्रियो नै समाज, राष्ट्रलाई नै हानी हुँदै गएको अवस्था छ’, उनले थपिन्, ‘बालबच्चाको भविष्य पनि डामाडोल बनेर जान थाल्यो । यसले विकृत रुप लिन जान्छ । पछि छोराछोरी कता जाने, कता खाने हुँदाहुँदै अन्त्यमा लागूऔषध दुव्र्यसन बन्न पुग्छ, भनौं यही कारण नै दुव्र्यसनीको सङ्ख्या पनि बढिरहेको हो ।’
बालबालिकाका लागि पहिलो पाठशाला साथै माया पाउने ठाउँ नै घरपरिवार हो भनिन्छ । घरपरिवार नै बिग्रिएपछि अन्य पुस्ताले सिको गर्ने नै भए । उनी थप्छिन्, ‘प्रविधिले संसार सजिलो बनायो तर त्यही प्रविधिले नेपालमा भने सजिलोसँगै अप्ठ्यारो पनि बनाउँदै लगेको छ । फेसबुक, मोबाइललगायतका प्रविधि साथै सामाजिक सञ्जालले चिनाजान, नजिक बनाउँदै लग्यो । नबिग्रने बिग्रँदैनन् तर बिग्रिनेहरु छिटो बिग्रन थाल्छन् ।’
अहिले धरानमा अर्को विकृति बढेको उनी बताउँछिन् । अहिलेका बुहारीहरु श्रीमान् बाहिर रहेपछि सासु ससुरासँग बस्न रूचाउँदैनन्, उनीहरु कि कोठा भाडामा लिएर बस्छन् वा भनौं सासुससुराको नियन्त्रणबाहिर । अलग्गै बस्न थालेसकेपछि उनीहरु ‘फ्रिडम’ भएको महसुस गर्न थाले, जहाँ जा जहाँ खा कसैको मतलब भएन । अनि श्रीमान्ले पनि छोराछोरी पढाउन वा अन्य समस्या छ भन्दै जति भन्यो त्यति पैसा पठाउने गर्न थाले । त्यसपछि त श्रीमतीहरू कहाँ छन्, के गर्दैछन् कसैलाई पत्तो नहुने । यस्तै, अहिलेको तडकभडक जीवन जिउनु, साथीभाइको लहैलहैमा लाग्नु उनीहरुको स्वभाव हुन थालेको छ । ‘सहरमा बस्ने बुहारीहरु तडकभडकमै समय बिताउन चाहन्छन्’, प्रसनि न्यौपाने भन्छिन्, ‘मैले के गर्नुपर्छ, मेरो जिम्मेवारी के हो ? आदि सोच्दैनन् । यही कारण पनि महिलाहरू बिग्रने हुन् ।’ उनले अहिलेको हकमा ५० प्रतिशत पुरुष पीडित बनिरहेको बताइन् ।
यस्तो घटनाले समाजमा नकारात्मक प्रभाव पार्ने गरेको छ । महिलामात्रै हिंसामा पर्ने होइन, पुरुष पनि हिंसामा पर्दै पीडित बन्ने गरेको छ । यस्तो घटना कम गराउन अभियान नै चलाउनुपर्ने अभियानकर्मीहरु बताउँछन् । त्यसैले यसतर्फ पनि ध्यान दिनु आजको आवश्यकता हो ।

प्रकाशित मिति: मंसिर १४ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend