धरानः धरान–१४ स्थित पिण्डेश्वर, दन्दकाली र बूढासुब्बा मठ मन्दिर तथा त्यस रुटका सडक १ सरसफाइ गरिएको छ ।
नेकपा एमाले वडा कमिटी धरान–१४ ले सो ठाउँमा सरसफाय गरेको हो । वडा कमिटी अध्यक्ष सूर्य पोखरेलले सरसफाइका क्रममा ३० बोराभन्दा बढी फोहर संकलन गरी व्यवस्थापन गरिएको जानकारी दिए ।
सरसफाइ कार्यक्रममा उपाध्यक्ष उत्तम आले, सचिव पर्शुराम खतिवडा, वडा कमिटीका पूर्वअध्यक्ष टंक कार्की, तीनधारे मार्ग टोल कमिटी र टिएलओ अध्यक्ष गोविन्द पोख्र्रेल, अनेम संघ १४ नं. वडा कमिटी अध्यक्ष अरुणा पोख्रेल, नेकपा एमाले सुनसरी जिल्ला कमिटी सदस्य तथा धरान नगर सहइञ्चार्ज ऋषि राई, नगर कमिटी सचिव सुदेश चापागाईं, नगर कमिटी झरना मुखिया सुनुवार समेत फोहोर संकलन तथा व्यवस्थापनमा सहभागी भएका थिए ।
धरान–१४ मा शक्तिपीठका रुपमा रहेको बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर मन्दिरहरुमा भक्तजनहरुले पूजाआजा र दर्शनका क्रममा चढाउने फलफूल, अक्षतापाती र छाड्ने ठपरा, झोला, पेरुङगो, खोंगी, डोरीलगायतका साथै छेउछाउका रुखहरुबाट झरेका पातपतिङ्गरहरुले मठ मन्दिर परिसर फोहर भई वातावरण अशोभनीय हुने, स्याल, कुकुर, चराचुरुङ्गीहरु र कहिलेकाहीँ बाँदर समेत झुम्मिएर जथाभावी फोहर फैलाउने, दुर्गन्ध बढाउने गरेकाले यस कमिटीले बालाचतुरदशीलगत्तै यो सरसफाइ कार्यक्रम राखेको हो ।
कमिटीको यस अभियान सफल बनाउन फोहर संकलन तथा व्यवस्थापनमा खटिएका सहभागीहरुलाई पिण्डेश्वर बाबाधाम समितिले खाजा एवम् पानी कार्यक्रमका ब्यानर झरना मुखिया सुनुवारले सौजन्य गरेको समितिका सचिव पर्शुराम खतिवडाले जानकारी गराए ।