धरानः धरान उपमहानगरपालिका–२ भानुचोकबाट लागूऔषधसहित एकजना युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धरान–१३ का २७ वर्षीय मिलन तामाङ रहेको इलाका प्रहरी कार्यालय धरानका इनिस्पेक्टर हेमराज ओलीले जानकारी दिए । ‘एकाबिहानै उनी भानुचोकमा डुलिरहेका थिए, उनको गतिविधि अलि शंकास्पद थियो’, उनले भने, ‘उनीमाथि खानतलासी गर्दा लागूऔषध भेटियो ।’
उनले गोजीमा लुकाएको अवस्थामा लागूऔषध फेला परेको उनले जानकारी दिए । मङ्गलबार बिहान पौने ६ बजे वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा तामाङको साथबाट डाइजेपाम ८ एम्पुल, लुपिजेसिक ८ एम्पुल, एभिल ८ एम्पुल, नाइट्रोजोपाम ५० ट्रयाब्लेट र स्पास्मो प्रोक्सिभन १८ ट्याब्लेट बरामद गरेको छ । तामाङलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।