धरानः बैंकिङ कसुर मुद्दाको फरार प्रतिवादी सुनसरीको धरान उपमहानगरपालिका–३ का २८ वर्षीय केमन खड्कीलाई पक्राउ गरिएको छ ।
बैंकिङ कसुर मुद्दामा गत २०७८ वैशाख १६ गतेको सजाय निर्धारण फैसला आदेशले १ वर्ष ६ महिना कैद र ९ लाख ७४ हजार ४ सय रुपैयाँ जरिवाना भई असुल गर्न बाँकी रहेका खड्कीलाई पक्राउ गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकृत नविनराज राईले जानकारी दिए ।
विराटनगरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दा घरमै लुकिछिपी बसेको अवस्थामा बुधबार दिँउसो पक्राउ गरेको हो । पक्राउ परेका खड्कीलाई सम्मानित जिल्ला अदालत सुनसरीमा दाखिला गरी कैद भुक्तानको लागि कारागार चलान गरिएको उनले जानकारी दिए ।