धरानः धरान–१२ चतरा लाइनमा नयाँ व्यवस्थापनका साथ नेशनल मल्टिपल कलेज सञ्चालनमा आएको छ ।
एम्स एकेडेमीसँग मिलेर सोही स्थानमा सो कलेज सञ्चालनमा आएको हो । बुधबार कलेज परिसरमा आयोजित पत्रकार सम्मेलनमा सो कलेज २०६२ सालमा सञ्चालित भएपछि यस वर्षदेखि नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको जानकारी दिइयो ।
कलेजले चार वर्षे बिएड आइसिटी, बिएड र बिबिएस कार्यक्रम सञ्चालन गर्ने प्रिन्सिपल मित्र तामाङले जानकारी दिए । पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा यस्तो कोर्ष सञ्चालन गर्ने उनले जानकारी दिए । उनले विशेषतः बिएड आइसिटी पढेपछि जागिर खोज्दा सहजै खान सकिने विषय भएकोले यसतर्फ विद्यार्थीको क्रेज रहेको बताए । ‘आइसिटी पढेपछि स्वदेशमै रोजगारी पाउने र आफैले पनि अवसर सिर्जना गर्न सकिने पर्याप्त सम्भावना रहेकोले यो विषय विद्यार्थीको छनौटमा पर्ने गरेको छ, त्यही भएर यस्तो विषयको पनि ज्ञान दिन जरुरी ठान्यौं र यो कलेज पनि अहिले एम्ससँगकै सहकार्यमा अघि बढेको हो ।’
हरेक विद्यालयमा आइटी शिक्षक चाहिने र बजारमा छिटो बिक्ने हुनाले यो विषय विद्यार्थीको रोजाइमा पर्न सक्ने कलेजका संयोजक दुर्गा सुवेदीले जानकारी दिए । उनले आइसिटी शिक्षालाई प्रभावकारी बनाउन दक्ष आइसिटी शिक्षक तथा प्रशिक्षक उत्पादन गर्ने उद्देश्यले यो कोर्ष आवश्यक रहेको धारणा राखे । उनले यो कोर्षले विद्यालयस्तरको एक दक्ष आइसिटी शिक्षकको परिकल्पना गरेको बताउँदै कलेजले दक्ष आइटी शिक्षकहरु उत्पादन गरी विद्यालयस्तरका आइटी शिक्षकको अभावलाई पूर्ति गर्ने बताए ।
‘देशले दक्ष आइसिटी प्रशिक्षकहरु उत्पादन गर्न सकिरहेको छैन, अहिलेसम्म अनौपचारिकरुपमा कम्प्युटर शिक्षा प्राप्त गरको जनशक्तिले नै यसलाई धानिरहेको छ’, उनले थपे, ‘नेपाल सरकारले पनि नेपालको विद्यालय शिक्षालाई आधुनिकीकरण र प्रविधिमैत्री बनाउँदै लैजाने योजना अघि सारेको छ, योजनाअनुसार विद्यालय तहका लागि कम्प्युटर विषयका पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण भएका छन्, सबै विद्यालयहरुमा अनिवार्य कम्प्युटर शिक्षालाई अभियानकै रुपमा सञ्चालन गरिँदै आएको छ । यसै सन्दर्भमा विद्यालय तहका लागि अन्य विषय दरबन्दी सिर्जना गरी स्थायी शिक्षक नियुक्ति गरिएजस्तै कम्प्युटर शिक्षाको दरबन्दी सिर्जना गरिने हुँदा सो का लागि न्यूनतम योग्यता प्राप्त जनशक्रि निर्माण गर्नुपर्ने आवश्यकता देखिन्छ । यस प्रयोजनले विश्वविद्यालय शिक्षमा यो विषय समावेश गरिएको छ, यो विषय अध्ययन गर्ने विद्यार्थीले स्थायी कम्प्युटर शिक्षकका रुपमा न्यूनतम प्रतिस्पर्धा वा बिर्नाप्रतिस्पर्धा नियुक्ति पाउने सम्भावना रहेको हाम्रो ठहर छ ।’ उनले धरानमा धरानमा पहिलोपटक यो कोर्ष सञ्चालन भइरहेको र यसले शिक्षा क्षेत्रमा धरानलाई हब बनाइराख्न सहयोग पुग्ने पनि बताए ।
कार्यक्रममा नेशनल कलेजका पूर्व प्राचार्य सागर भट्टराईले धरानका बैंकहरुमा जतिपनि कर्मचारीहरु कार्यरत छन् उनीहरु पूर्वाञ्चल विश्वविद्यालयको आइसिटी पढेरै आएको दावी गरे ।
कक्षा–१२ मा व्यवस्थापन, शिक्षा, मानविकी तथा विज्ञान विषयमा अध्ययन पूरा गरेका विद्यार्थीले यो विषयको अध्ययन गर्न सक्ने प्रिन्सिपल तामाङ बताउँछन् । बिहान र बेलुका यो कक्षा सञ्चालन हुने भएकोले विभिन्न इन्स्टिच्युट तथा विद्यालयहरुमा शिक्षण पेशामा आवद्धहरुले पनि कक्षा लिन सक्ने उनी बताउँछन् ।
कलेजले दलित, आदिवासी जनजाति, सीमान्तकृत वर्ग, क्षेत्र र समुदायका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था समेत गरिएको जनाइएको छ ।


