धरानः धरानमा अग्रज पत्रकार हर्ष सुब्बा सम्मानित भएका छन् । उनीसँगै कलाकार गोपाल शाक्यलाई पनि सम्मान गरिएको छ ।
सुब्बालाई २१ हजार नगद र सम्मानपत्रले सम्मान गरिएको थियो । धरान-७ स्थित सिद्धि नेवा परिषद्को १५ औं साधारणसभा तथा १५८ औं सिद्धिमान, गंगालक्ष्मी पलिखेको जन्मजयन्तिका अवसरमा उनलाई सम्मान गरिएको हो ।
यस्तै, कलाकार शाक्यलाई १५ हजार र सम्मानपत्रले सम्मान गरिएको थियो । कार्यक्रममा पिण्डेश्वर आधारभूत विद्यालयलाई २० हजार र सम्मानपत्र प्रदान गरिएको छ । कार्यक्रममा परिषद्का अध्यक्ष गोकुलप्रसाद श्रेष्ठ, कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी, धरान-७ का वडाध्यक्ष जीवन सुवेदी, संस्थाकी निवर्तमान अध्यक्ष सरला कायस्थले उनीहरुलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा छात्रवृत्ति पुरस्कार पनि दिइएको थियो । इन्जिनियरतर्फबाट ५ जना, प्लस टु तर्फबाट ५ जना र एसइईतर्फ ६ जनालाई छात्रवृत्ति पुरस्कार तथा सम्मान गरिएको थियो । उनीहरुलाई जनही १० हजारका दरले छात्रवृत्ति पुरस्कार दिइएको थियो ।
कार्यक्रमको स्वागत मन्तव्य मोहन श्रेष्ठले गरेका थिए भने कार्यक्रममा कार्य समितिका पदाधिकारी र सदस्यहरुको परिचय कार्यक्रम महासचिव महेशकुमार प्रधानले गरको थिए ।
तस्वीरहरुः अंकित ढुङ्गाना


