धरानः धरानबाट एकजना बालकको उद्दार गरिएको छ ।
सडकमा आउन बाध्य बालकको धरानस्थित भानुचोकबाट १० वर्षीय बालकको उद्दार गरिएको हो ।
धरान-११ गैरी गाउँ बस्ने १० वर्षीय आयुष आचार्य सडकमा आएको झण्डै एक वर्ष भएको थियो । बुबाको मुत्युपश्चात् आमा पनि अर्कैसँग हिँडेपछि उनी सडकमा आउन बाध्य भएको धरान नगर प्रहरी खड्ग बानियाँले जानकारी दिए । कक्षा–३ पढ्दै गरेको उनी घरमा कोही हेरचार गर्ने नभएपछि सडकमा आएर पेट गुजाराका लागि भौतारिरहेका थिए ।
इटहरीमा रहेको भिओसी नामक संस्थालाई सो बालक जिम्मा लगाइएको नगर प्रहरी बानियाँले जानकारी दिए । भिओसीका कार्यक्रम अधिकृत भरत थापाको समेत उपस्थितिमा सो बालक उनको जिम्मा लगाइएको हो ।
धरानमा अझै पनि यस्ता सडक बालबालिकाहरू रहेका छन् । यसतर्फ स्थानीय सरकाले चासो दिनु आजको आवश्यकता हो । बालमैत्री उपमहानगरपालिका घोषणा हुने चरणमा रहेको धरान उपमहानगरपालिकामा यसरी दिनहुँजसो सडक बालबालिका बढ्दै जानु दुःखद् हो ।
बालबालिकाहरु सडकमा आउनुको कारण पारिवारिक वातावरण बिग्रिनु, राम्रो संरक्षण नपाउनु नै हो । त्यसैले अभिभावकले पनि यसतर्फ ध्यान दिनु आजको आवश्यकता हो ।
