धरानः चर्चित ब्याण्ड रविन एण्ड द न्यू रेभुलेसन ब्याण्डले पुस ३ अर्थात् भोलि शनिबार धरानमा आयोजना हुने ‘टुवोर्ग मेगा लाइभ कन्सर्ट’ मा आफ्नो प्रस्तुति दिने भएका छन् ।
उनीहरुको टोली धरान आइपुगेको आयोजकले जनाएको छ । धरानस्थित पब्लिक हाइस्कुलको खेल मैदानमा कार्यक्रम आयोजना हुने जनाइएको छ । चार वर्षअघि न्यू यर इभ कन्सर्टमा धरान आएका ब्याण्डका मुख्य गायक रविन तामाङ धरानको दर्शकहरुको माया हरेक पटकको कन्सर्टमा सधै बढिरहेको पाएको बताउँदै भन्छन्, ‘लामो समयपछि मेगा कन्सर्ट त्यो पनि धरानमा आउन पाउँदा एकदमै खुशी छु ।’
विभिन्न नेपाली चलचित्रमा अभिनय समेत गरेको तामाङको केटाकेटी, दम मरो दम, चिसो चिसो हावामा, आधुनिक आँगनमा, म मौनतामा, भेटे मैले शिवाजी, जति माया लाएपनिलगायतका गीतहरु चर्चित छन् ।
टुवोर्गको प्रस्तुति तथा सिल्भर इन्टरटेनमेन्टको आयोजनामा हुने कन्सर्टमा धरानको दुई स्थानीय प्रतिभाहरु हिना मल्ल बराइली र दिपीका बस्नेतको समेत प्रस्तुति रहनेछ । हिना पहिलो नेपाल आइडलको टप टेन पुगेर चर्चामा आएकी गायिका हुन् भने दिपीका बस्नेत पनि नेपाल स्टारकी प्रतियोगी हुन् ।
कोभिडको कारणले दुई वर्षदेखि कुनै पनि ठूलो कन्सर्ट नभएको धरानमा यो पहिलो कन्सर्ट हो । कार्यक्रमस्थलमा प्रवेशको लागि मास्क र सेनिटाइजर अनिवार्य गरिएको छ । कार्यक्रममा प्रवेशका लागि टिकटदर २ सय रुपैयाँ तोकिएको छ ।
