धरानः धरान-८ स्थित इन्जिनियरिङ अध्ययन संस्थान पूर्वाञ्चल क्याम्पसमा पूर्वाञ्चलकै ठूलो र ऐतिहासिक प्राविधिक कार्यक्रम ‘एसीइएस टेक फेष्ट ४.०’ आयोजना हुने भएको छ ।
क्याम्पसभित्र रहेको एशोसिएसन अफ कम्प्युटर इन्जिनियरिङ स्टुडेण्टस (एसीइएस) ले आउँदो पुस ५ गतेदेखि १३ गतेसम्म यस्तो कार्यक्रम गर्न लागेको हो ।
संस्थाले विगत चार वर्षदेखि यस्तो कार्यक्रम आयोजना गर्दै आएको यस वर्षपनि यसै कार्यक्रमलाई निरन्तरता दिइएको एसीइएसका अध्यक्ष कुशल अधिकारीले जानकारी दिए । उपत्यकाबाहिर रहेर पनि प्राविधिक क्षेत्रमा रुचि राख्ने विद्यार्थीलाई मध्यनजर गर्दै यस्तो कार्यक्रम गर्दै आएको उनले जानकारी दिए ।
हयाकाथन, लाइभ कोडिङ एण्ड डिवगिङ, प्राविधिक वर्कसप, हाजिरीजवाफ प्रतियोगिता, गेम फेस्ट, अवेरनेश अफ माइक्रोसफ्ट इम्याजिन कप, आइडियाथन, म्युजिकल फेस्ट जस्ता कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए । कार्यक्रममा करिब तीन हजार दर्शकहरुले प्रत्यक्ष अवलोकन गर्ने अनुमान गरिएको उनले जानकारी दिए । कार्यक्रममा धरान, इटहरी, विराटनगरलगायत देशभरीका विद्यालयबाट विभिन्न विधामा प्रतिस्पर्धा गर्नका लागि विद्यार्थीको सहभागिता रहने जनाइएको छ ।
एसीइएस कम्प्युटर इन्जिनियरिङतर्फ अध्ययनरत विद्यार्थीहरुद्वारा सञ्चालित गैरनाफामूलक संस्था रहेको जनाइएको छ ।