Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा चासोक तङ्नामको रौनक

हाम्रो कोशी आवाज
पुष ४ २०७८, आइतबार
धरानमा चासोक तङ्नामको रौनक

धरानः धरानमा प्रकृतिपूजक लिम्बू जातिहरुको महान चाड चासोक तङनामको रौनक देखिएको छ ।
मौलिक चाड चासोक तङ्नामको अवसरमा आयोजित पाँच दिने चासोक तङ्नाम सांस्कृतिक उत्सवले यतिबेला धरानमा रौनक छाएको हो ।
धरान उपमहानगरपालिकाका मेयर तिलक राईले च्याब्रुङ बजाएर चासोक तङ्नाम २०७८ को उद्घाटन गरेका थिए ।
लिम्बू जातिहरूले उधौलीको अवसरमा २०५० सालदेखि यसरी नै भेला भएर धरानमा चासोक तङनाम मनाउने गरिन्थ्यो । अघिल्लो वर्ष कोरोना कहरका कारण सांस्कृतिक, मेला र उत्सवसहितको कार्यक्रम राखेर चासोक तङनाम मनाउन नपाउँदा यस वर्ष भने रौनक छाएको कियाचु धरान नगर समितिकी अध्यक्ष पदमा लिम्बूले जानकारी दिइन् ।
किरात याक्थुङ चुम्लुङले वर्षेनी चासोक तङ्नाम धुमधामसाथ मनाउँदै आएको थियो । यसवर्ष लिम्बू जाति केलाङ र धान नाचमा रमाउँदै चासोक तङनाम मनाउन पाएको जिल्ला सदस्य शिव इस्वो बताउँछन् ।
‘प्रकृतिपूजक लिम्बू जाति मंसिरे पूर्णिमादेखि उधौली पर्वलाई महान् चाडका रूपमा धूमधामका साथ मनाउँछन् । लिम्बू बस्तीमा ढोल र झ्याम्टाको तालमा यति बेला केलाङ (च्याबु्रङ) नाच घन्किरहेको देख्न पाइन्छ । दुई वर्षसम्म कोरोनाकै कारण खासै कार्यक्रम हुन सकेन ।’ उनले थपे ।
उधौलीयाम सुरु भएसँगै लिम्बूले मंसिर पूर्णिमाको दुई दिन अघिदेखि घरघरमा र चुम्लुङ हिममा जम्मा भएर ‘चासोक तङ्नाम’ मनाउने चलन रहेको जिल्ला किरात याक्थुङ चुम्लुङका केन्द्रीय सचिव डा. योगेन्द्र पालुङ्वाले जानकारी दिए ।
लिम्बूहरूले चासोकको दिन चुम्लुङ हिममा भेला भएर आफ्नो खेतमा पाकेको नयाँ अन्न धान, कोदो, मकै, दाल, भटमास तागेरा निङ्वाफु माङलाई चढाएर घरघरमा पूजा गरी परिवारका सबै सदस्य एकै ठाउँमा भेला भएर खाने प्रचलन छ । यस समयमा विस्तारै लोप हुन लागेको लिम्बूहरूको याराक (धान नाच), केलाङ (च्याबु्रङ नाच), पकलुम लेप्मा (छेलो हान्ने), थाक थाक्मा (तान बुन्ने), ली आप्मा (गुलेली हान्ने) संस्कृतिलाई जोगाउन लिम्बूहरूको नयाँ पुस्ता लागिपर्ने गरेको डा. कियाचुका केन्द्रीय उपाध्यक्ष डा. कमल तिगेला बताउँछन् ।
यस वर्ष धरानमा पाँचदिने ‘चासोक तङनाम सांस्कृतिक उत्सव’ आयोजना भएको नगर सचिव जय सम्वाहाम्फेले जानकारी दिए । उनका अनुसार आइतबार बिहान विजयपुरस्थित हाङयुक्नामा लिम्बु याक्थुङ विधिअनुसार पूजा गरिएको थियो । त्यस्तै, तीनकुने स्थित किरात विभूति एवम् सहिद श्रीजङ्गाको सालिकमा माल्यार्पण समेत भएको थियो । यसैगरी पुस ५ गते दिउँसो के–लाङ (च्याब्रुङ नाच) प्रतियोगिता, पुस ६ गते आदिवासी जनजाति महासङ्घअन्तर्गतका आदिवासी संघ–संस्थाहरूको सांस्कृतिक प्रदर्शनी एवम् तरेचा (पाहुना खाना) आयोजना हुनेछ भने साँझ स्थानीय र राष्ट्रिय कलाकारहरूको सांस्कृतिक साँझ हुने जनाइएको छ ।
पुस ७ गते या–लाङ (धान नाच), पालाम आयोजना हुने छ । पुस ७ गते नै चासोक तङनाम २०७८ को समापन हुने र साँझसम्म या–लाङ आयोजना हुने जनाइएको छ । धरान–१५ स्थित किरात याक्थुङ चुम्लुङको चुम्लुङ हिममा आयोजना हुने चासोक तङनाम उत्सवमा विभिन्न २२ वटा स्टलहरू पनि राखिएका छन् । स्टलहरूमा आदिवासी जन्य सांस्कृतिक परिकारहरू र सांस्कृतिक स्टलहरू रहेका छन् ।
आजको दिन किराँत समुदायमा बस्ती चासोक तङ्नाममय बनेको छ । प्रदेश नं १ मा किराँत समुदायको बसोबास भएकाले आज एक दिन सार्वजनिक बिदासमेत दिएको छ । प्रायः पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, धनकुटा, झापा, मोरङ, सुनसरीमा चासोक तङ्नामन मनाइन्छ ।
तस्वीरहरुः शेखरनाथ जोगी

प्रकाशित मिति: पुष ४ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend