धरानः कोभिड महामारीपछि साढे दुई वर्षपछि आयोजना भएको ‘टुवोर्ग मेगा लाइभ कन्सर्ट’ मा चर्चित ब्याण्ड रविन एण्ड द न्यु रेभुलुसनले आफ्ना हिट गीतहरुको प्रस्तुतिले चिसो मौसममा दर्शकहरुलाई तताएको छ ।
धरान–१२ स्थित पब्लिक हाइस्कुलको खेलमैदानमा आयोजित कन्सर्टमा रविन एण्ड द न्यु रेभुलुसनले नेपाली ढाका टोपी लगाएर स्टेजमा ओर्लिदै नेपाल–नेपाल बोलको आफ्नो राष्ट्रिय भावनाको गीत बाट कन्सर्ट सुरु गरेका थिए ।
चार वर्षपछि धरान–कन्सर्टमा आएका रविनले भेटे मैले शिवाजी, केटाकेटी पहिलो नाम, जति माया लाएपनि, चिसो चिसो हावा, दम मरो दम लगायतका करिब १ दर्जन गीतहरु गाएर धरानेहरुलाई फेरि पनि आफ्नो तालमा नचाए । पुसको जाडो भएपनि दर्शकहरु रविन एण्ड न्यू रेभुलुसनको गीतमा पूरा मनोरञ्जन लिएका थिए ।
गायक रविन तामाङसँगै प्रविन दास श्रेष्ठ, हरिकृष्ण महर्जन र विजय विश्वकर्मा स्टेजमा ओर्लिएका थिए । कोभीड पछिको आफ्नो पहिलो ओपन कन्सर्ट भएको बताउँंदै गायक तामाङले सबैलाई सेफ्टीको लागि मास्क ,सेनिटाइजर प्रयोग गर्न र खोप अनिवार्य लगाउन अनुरोध गरे ।
कार्यक्रममा धरानका दुई स्थानीय प्रतिभाहरु हिना मल्ल बराइली र दिपीका बस्नेतले समेत आफ्नो प्रस्तुति दिएका थिए । गायिका हिना मल्ल बराइली पहिलो नेपाल आइडलको टप टेन पुगेर चर्चामा आएकी गायिका हुन् । उनको प्रस्तुतिको पनि दर्शकहरुबाट निकै प्रशंसा पाएको थियो । त्यस्तै, फ्री बर्ड्स ब्याण्डलले समेत गीतहरु गाएको थियो ।
कन्सर्टको सञ्चालन गोबिन्द राजभण्डारीले गरेका थिए । टुबोर्गको प्रस्तुति तथा सिल्भर इन्टरटेनमेन्टको आयोजनामा भएको कन्सर्ट डिभाइन वाइन प्रिमियम, रेडब्लु इनर्जी ड्रिंक, जल पाइप्सको सह प्रायोजन, ब्ल्याकपिग इन्टरटेनमेन्ट, एसपी इभेन्ट्स एण्ड इन्टरटेनमेन्ट ,एनएचडीडी स्टुडियोको विशेष सहयोगमा कार्यक्रम भएको हो ।
टुबोर्गको प्रस्तुति र सिल्भर इन्टरटेनमेन्टको आयोजनामा यस अघि धरानमा टुबोर्ग मेगा लाइभ कन्सर्ट २०१७ , धरान र पथरीमा टुबोर्ग मेगा लाइभ कन्सर्ट २०१८ आयोजना भइसकेको छ । मेगा लाइभ कन्सर्टको यो तेस्रो संस्करण हो ।






