धरानः धरानमा सुनसरीमै ठूलो यलम्बरको प्रतिमा निर्माण भएको छ ।
धरान-१७ स्थित साकेला सांस्कृतिक पार्कमा प्रथम किराँत राजा यलम्बरको प्रतिमा स्थापना भएको हो । उधौली पर्वको अवसरमा सो प्रतिमाको अनावरण गरिएको हो ।
एक कार्यक्रमका बीच धरान उपमहानगरपालिकाका मेयर तिलक राईले सो प्रतिमाको अनावरण गरेका छन् । धरानका स्व. क्याप्टेन भीमराज राईको सम्झनामा श्रीमती धुर्पीमाया राई, छोराबुहारी बीरबहादुर, लीलादेवी राईलगायत परिवार नै मिलेर सो प्रतिमा निर्माण गरिदिएका हुन् ।
यसैबीच सोमबार नै त्यहाँ उधौली पर्व पनि धुमधामसाथ मनाइएको छ । किरात राई यायोक्खा जिल्ला कार्य समिति सुनसरीको आयोजनामा यस्तो कार्यक्रम आयोजना भएको अध्यक्ष राजेन्द्र राईले जानकारी दिए । त्यहाँ औपचारिक कार्यक्रमसँगै उधौली कार्यक्रम पनि राखिएको थियो ।
मौलिक पहिरनमा सजिएका किरात राई युवायुवती, वृद्धवृद्धाहरु गोलाकार भएर साकेला सिली नाच्न थालेपछि त्यहाँ साकेलामय समेत बनेको थियो ।
यस्तै, मङ्सिरे पूर्णेमा पाकेको अन्नबालीलाई घरभित्र हुलेर सबैभन्दा पहिला आफ्ना पितृहरुलाई चढाई आशिक मागेर परिवारबीच भेटघाट गरी साकेला नाचिन्छ । यो चाडलाई भने उधौली भनिन्छ ।
यस दिनमा किराती समुदायले आफ्नो पुर्खा र प्रकृतिलाई सम्झने र सम्मानस्वरुप पूजाआजा गर्ने गरेका छन् । राईहरुले बैशाख पूर्णेदेखि १५ दिनसम्म लगातार साकेला नाचेर उभौली मनाउने गरेका छन् ।
तस्वीरहरुः हाम्रो कोशी आवाज










