Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा मन्त्रीले धान नाचेपछि सकियो चासोक

हाम्रो कोशी आवाज
पुष ७ २०७८, बुधबार
धरानमा मन्त्रीले धान नाचेपछि सकियो चासोक

धरानः धरानमा यसपटकको उधौली पर्व धुमधामसाथ सम्पन्न भएको छ ।
धरान–१५ स्थित चुम्लुङ हीममा आयोजित कार्यक्रममा प्रदेश १ सरकारकी सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्वाहाङफेले सहभागीहरुसँग धान नाचेपछि चासोक सकिएको हो ।
पाँचौ दिन बुधबार आयोजित कार्यक्रम उनले च्याब्रुङ बजाएर उद्घाटन गरेकी थिइन् । औपचारिक कार्यक्रम सकिएपछि राज्यमन्त्री तुम्वाहाङ्फेले धान नाचेर यसपालिको चासोक तङनामलाई विदाइको सङ्केत गरिन् । कार्यक्रममा बोल्दै उनले आदिवासी जनजातिको उधौली, उभौली पर्व राष्ट्रियपर्व भएकोले संघीय सरकारले यसलाई प्रदेशमा मात्र विदा दिने निर्णय गरेको गुनासो पोखिन् ।
कार्यक्रममा चुम्लुङ केन्द्रीय महासचिव निरन्ती तुम्बापो, प्रदेश १ का पूर्व प्रदेश प्रमुख प्रा.डा.गोविन्द तुम्वाहाङ, चुम्लुङका केन्द्रीय सल्लाहकार नरप्रसाद लिम्बू, आदिवासी जनजाति महासंघ धरान नगरका अध्यक्ष सुवास हुक्पाचोङवाङ, चुम्लुङ्की धरान नगर अध्यक्ष पदमा लिम्बूलगायतको उपस्थिति रहेको थियो ।
बुधबार पनि जातीय भेषभुषा र श्रृङ्गारले सजिएका लिम्बू युवायुवतीहरु हात समाएर पालाम गाउँदै यालाङ (धाननाच) नाचेका थिए । आइतबारदेखि शुरु भएको पाँचदिने चासोक तङ्नाम सांस्कृतिक उत्सवले गर्दा धरानमा प्रकृतिपूजक लिम्बू जातिदेखि अन्यमा पनि रौनकता छाएको थियो ।
युवापुस्ताहरु आफ्नो जातीय संस्कार, संस्कृति, पहिरनप्रतिको आकर्षण बढेको समेत देखियो । संस्कार, संस्कृतिको मोह बढाउन र चासोक तङ्नामलाई लिम्बूहरुको मौलिक चाडकोरुपमा स्थापित गराउन यस्तो कार्यक्रम गरेको किरात याक्थुङ चुम्लुङकी धरान नगर समिति अध्यक्ष पदमाले बताइन् ।
आइतबार धरान उपमहानगरपालिकाका मेयर तिलक राईले च्याब्रुङ बजाएर चासोक तङ्नाम २०७८ को उद्घाटन गरेका थिए । लिम्बू जातिहरुले उधौलीको अवसरमा २०५० सालदेखि यसरी नै भेला भएर धरानमा चासोक तङ्नाम मनाउँदै आएको अग्रज पत्रकार तथा किरात याक्थुङ चुम्लुङका सल्लाहकार हर्ष सुब्बा बताउँछन् । दुई वर्षसम्म कोरोना कहरका कारण सांस्कृतिक मेला, उत्सवसहितको कार्यक्रम नभई घरघरमै सीमित चासोकले यसवर्ष भने रौनकता ल्याएको अध्यक्ष पदमा बताउँछिन् । ‘दुई वर्षसम्म यो चाड मनाउनै पाइएन तर यसपटक भने बाक्लो जमघटका साथ चाड मनाइएको छ तर पनि स्वास्थ्य मापदण्ड भने पालना गरिएको छ ।’
यस वर्ष लिम्बू जातिले केलाङ र धाननाचमा रमाउँदै साथै सांस्कृतिक उत्सवसहितको कार्यक्रम राखिएको जिल्ला सदस्य शिव इस्वोले जानकारी दिए ।
लिम्बूहरुले चासोकको दिन चुम्लुङहीममा भेला भएर आफ्नो खेतमा पाकेको नयाँ अन्न धान, कोदो, मकै, दाल, भटमास, तागेरा निङ्वाफुमाङलाई चढाएर घरघरमा पूजा गरी परिवारका सबै सदस्य एकै ठाउँमा भेला भएर खाने प्रचलन रहेको छ । यसमा विस्तारै लोप हुन लागेको लिम्बूहरुको याराक (धाननाच), केलाङ (च्याब्रुङ नाच), पकलुम लेप्मा (छेलो हान्ने), केलाङ (च्याब्रुङ नाच), पकलुम लेप्मा (छेलो हान्ने), थाक थाक्मा (तान बुन्ने), ली आप्मा (गुलेली हान्ने), थाक थाक्मा (तान बुन्ने), ली आप्मा (गुलेली हान्ने) संस्कृतिलाई जोगाउन लिम्बूहरुको नयाँ पुस्ता लागिपरेको कियाचुका केन्द्रीय उपाध्यक्ष डा. कमल तिगेलाले जानकारी दिए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: पुष ७ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend