Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा दुर्घटना घटाउने कोसिस गर्दै ट्राफिक

हाम्रो कोशी आवाज
पुष ९ २०७८, शुक्रबार
धरानमा दुर्घटना घटाउने कोसिस गर्दै ट्राफिक

धरानः शुक्रबार धरानस्थित भानुचोकमा आफ्नो स्वास्थ्य समस्याबारे बुझ्न आइपुगेका चालक तुलबहादुर माझीलाई चिकित्सकले सुगर बोर्डर लाइनमा छ भनेपछि उनी बीपी प्रतिष्ठान पुगे । उनलाई मात्रै होइन धेरै चालकको आँखा, सुगर, प्रेसरलगायतको चेकजाँचपछि प्रतिष्ठान बोलाइएको थियो ।
शुक्रबार धरानको भानुचोकमा सार्वजनिक बसका चालक, सहचालकको आँखाको जाँच गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी धरानको समन्वयमा यस्तो कार्यक्रम भएको हो । विशेषतः सडक अनुशासनबारे जानकारी दिन र चालक, सहचालकको स्वास्थ्यलाई ख्याल गर्दै आँखा, सुगर, प्रेसरलगायतको जाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरान, सुनसरीका प्रमुख भुवनबाबु खड्काले जानकारी दिए ।
ट्राफिक प्रहरीको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत धरानमा सार्वजनिक यातायातका चालक तथा सहचालकको निःशुल्क स्वास्थ्य जाँच गरिएको उनले जानकारी दिए । ‘विशेषतः सार्वजनिक सवारी बसका चालक निकै जिम्मेवार हुन्छन् किनभने उनीहरुले नै हाँकेको सवारीले धेरैको ज्यान बच्छ तर उहाँहरुकै स्वास्थ्य अवस्था ठीक नभएपछि दुर्घटना हुन्छ, त्यही भएर दुर्घटना न्यूनीकरण होस् भनेर यस्तो कार्यक्रम आयोजना गरेका हौं ।’ उनले भने ।
कार्यक्रममा लायन्स क्लब अफ धरान घोपाका प्रतिनिधिहरूको सहयोगमा ८० जना सवारी चालकको स्वास्थ्य जाँच गरिएको उनले जानकारी दिए । उनका अनुसार २५ जनामा आँखाको समस्या, २० जनामा सुगर, प्रेसरलगायतको समस्या देखिएको उनले जानकारी दिए ।
कार्यक्रममा एक सयभन्दा बढी चालक तथा सहचालकलाई परामर्श पनि दिइएको थियो । ‘कोही पनि दुर्घटनाको समाचार नबनौं भन्दै जनचेतना समेत फैलाइएको थियो’, उनले भने, ‘दुर्घटना न्यूनीकरणका लागि सबैजना लागेमात्रै सम्भव छ, तर जे होस् आज भएको कार्यक्रम फलदायी नै भएको पाएका छौं ।’
पुस ४ गतेदेखि प्रदेश १ को आन्तरिक मामिला तथा कानून मन्त्रालय र प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीको संयुक्त आयोजनामा सप्ताहव्यापी कार्यक्रम शुरु भएको थियो । तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: पुष ९ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend