धरानः धरान प्रज्ञा प्रतिष्ठानले धरानका वरिष्ठ अग्रज साहित्यकार सरणकुमार राईलाई अभिनन्दन गरेको छ ।
कार्यक्रममा पाँच जना विभिन्न सिर्जना क्षेत्रका अग्रजहरुलाई सम्मान गरिएको थियो । धरान सभागृहमा सम्पन्न अग्रज स्रष्टा अभिनन्दन तथा कार्यक्रम–२०७८ सम्मानित हुनेहरुमा धरान अग्रज साहित्यकार गिरिराज आचार्य, अग्रज चित्रकार गोपाल शाक्य, अग्रज गायक गंगा बरदान, अग्रज रङ्गकर्मी प्रेम सुब्बा र नृत्यकार नगेन्द्र राई रहेका थिए ।
सम्मानित अग्रज व्यक्तित्वहरुलाई जनही नगद २० हजार रुपैयाँ प्रदान गरिएको थियो भने वरिष्ठ साहित्यकार सरणकुमार राईलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि धरान उपमहानगरपालिकाका मेयर तिलक राई, विशेष अतिथि उपमेयर मञ्जु भण्डारी, प्रतिष्ठान संयोजक अम्विकाकमुार सम्बाहाम्फेलगायतले उनीहरुलाई सम्मान गरेका थिए ।
कार्यक्रममा प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित स्थानीय युवाकवि धनचन्द्र राईको कविता सङ्ग्रह कचहरीको विमोचन पनि गरिएको थियो । कचहरीको विमोचन कार्यक्रमका प्रमुख अतिथि राई, विशेष अतिथि भण्डारी, कार्यक्रममा वरिष्ठ साहित्यकार बम देवान र प्राज्ञ प्रा.डा. गोपाल भण्डारीले संयुक्तरुपमा गरेका थिए । विमाचित कृतिका स्रष्टा युवाकवि राई सङ्ग्रहमा भएको आफ्नो कविता कचहरीको पाठ गरेका थिए । कार्यक्रममा सङ्ग्रहबारे अग्रज साहित्यकार देवानले सटिक समीक्षा गरेका थिए ।
कार्यक्रममा बोल्दै मेयर राईले स्व. मेयर तारा सुब्बाले गठन गरेको प्रतिष्ठानले समय समयमा धरानको कला, संस्कृतिको जगेर्ना गर्नको निम्ति कार्यक्रम गर्दै आएको बताए । कार्यक्रममा बोल्दै प्रतिष्ठानका संयोजक सम्वाहाम्फेले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए । प्रतिष्ठानका सदस्य गोपाल देवानले ज्युँदैमा गरिने अभिनन्दन र सम्मानले हौसला र प्रेरणा मिल्ने भएकोले यस्तो कार्यक्रम आयोजना गरिएको बताए । उनले भने–
सदियौंदेखि मान मान भन्दाभन्दै
खाली अपमान भो
त्यै अपमानको अन्त्य गर्न
यो हो कार्यक्रम सम्मानको ।
ज्युँदैमा भएन भनेर
कहिले रोदन, कहिले क्रन्दन भो
त्यसैले अग्रज स्रष्टाहरुलाई
यो ज्यूँदो अभिनन्दन हो ।
तस्वीरहरुः अंकित ढुंगाना र धरान प्रज्ञा प्रतिष्ठान










