धरानः बिबिएस चौथो वर्षमा अध्ययनरत् श्रुति अर्यालले धरान–१ स्थित धरान मोडल कलेज ‘वेष्ट’ रहेको बताउँछिन् । उनी थप्छिन्, ‘कारण हो, फ्रेण्डली वातावरण, दक्ष अध्यापकहरुको वेष्ट गाइडलाइन आदि कारणले यो कलेज वेष्ट हो ।’
बिबिएस दोस्रो वर्षमा अध्ययनरत् सन्ध्या लिम्बू कलेजले पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि सक्दो जोडदिने हुनाले पनि यो कलेज अधिकांशको रोजाइमा पर्छ । ‘कलेजले पढाइका साथै अतिरिक्त क्रियाकलापमा सक्दो जोड दिँदै विद्यार्थीमा लुकेर रहेका प्रतिभा बाहिर निकाल्छ’, उनले थपिन्, ‘यसको साथै कलेज सामाजिक उत्तरदायित्व पनि पूरा गरेको छ । कलेजले मन्दिर सरसफाइ, रक्तदानलगायतका कार्यलाई पनि वर्षेनी प्राथमिकतामा राख्दै आएको छ ।’
२०६६ सालमा स्थापना भएको धरान मोडल कलेजले अहिले सयौं विद्यार्थीको भविष्य उज्ज्वल बनाउन गुणस्तरीय शिक्षा दिँदै आएको र कलेजले एक किसिमको छवि बनाएको कलेजका प्रिन्सिपल प्रविन राई बताउँछन् । ‘अहिलेसम्मको नतिजा हेरेरै विद्यार्थीले विश्वास गर्ने वातावरण बनेको छ’, उनी भन्छन्, ‘कलेजका विद्यार्थीले पूर्वाञ्चल प्रथम नतिजा ल्याएपछि हामी गौरवान्वित भएका हौं र विद्यार्थीले विश्वास गर्ने वातावरण बनेको हो ।’
उनले २०७३ सालको बिबिएस प्रथम वर्षकी सुनिता गुप्ताले ७५.२ प्रतिशत ल्याउँदै पूर्वाञ्चल प्रथम बनेकी थिइन् । त्यसपछि कलेजले कहिल्यै नतिजामा नहारेको उनी बताउँछन् । ‘त्यसपछि लगातार विद्यार्थीको नतिजा राम्रो हुँदै गयो’, उनी भन्छन्, ‘२०७७ बिबिएस र बिएडको चौथो वर्षको परीक्षामा तीनजना डिष्टिङ्सन र २१ जना विद्यार्थी प्रथम श्रेणीमा उत्तीर्ण भए ।’ यस्तै, नुराज तिम्सिनाले ८१.१, सर्मिला बस्नेतले ७९.६ र अरुणा मानन्धरले ७७ प्रतिशत नतिजा ल्याएपछि कलेजले अहिले झनै फड्को मार्दै गएको उनले जानकारी दिए । ‘हाम्रा विद्यार्थीको अहिलेसम्मको नतिजा हेर्दा पूर्वाञ्चल प्रथम साथै पास प्रतिशत पनि राम्रो छ’, उनी थप्छन्, ‘विश्वविद्यालयमा हुने परीक्षाको उत्तीर्ण दर हेरयो भने हामी नै अगाडि छौं ।’ उनले कलेजका दक्ष अध्यापक, मिहिनेती अभिभावक, विद्यार्थीको कारण नतिजा उत्कृष्ट बनेको धारणा राखे ।
उनले अहिले कलेजमा अध्ययन सकेका विद्यार्थी विभिन्न ठाउँमा जागिर खाइरहेको देख्दा, सुन्दा खुशी लागेको बताए । ‘हाम्रा विद्यार्थी धरानलगायत अन्य ठाउँका अधिकांश बैंकमा जागिरे छन्’, उनले भने, ‘यसले हामीलाई थप जिम्मेवारीबोध गराउँदै गर्वको महसुस पनि हुन्छ ।’
उनले अहिले विद्यार्थीको अतिरिक्त क्रियाकलापमा पनि सक्दो जोड दिएको बताए । उनले अतिरिक्त क्रियाकलापअन्तर्गत वार्षिक रुपमा सप्ताहव्यापी खेलकुदका गतिविधि र सामाजिक कार्य गर्दै आएको बताए । ‘कलेज लेवलमा सप्ताहव्यापी विविध कार्यक्रम शुरुमा गर्ने नै हामी हौं’, उनले खुलाए, ‘हामीले खेलकुदका विविध क्रियाकलाप (दौड, फुटबल, भलिबल, बास्केटबल साथै सामाजिक कार्यअन्तर्गत रक्तदान, मन्दिर सरसफाइ आदि कार्य गर्दै आएका छौं ।’
कलेजले औद्योगिक भ्रमण, चेतनामूलक कार्यक्रम, इन्टर्नसीप, बसको सुविधा, आफ्नै सुविधासम्पन्न भवन, दक्ष अध्यापकहरु, अतिरिक्त क्रियाकलापमा जोड दिनु कलेजका विशेषता रहेको पनि बताए ।
उनले रमेश प्रसाईं, जीवन विष्टजस्ता प्रतिभावान विद्यार्थीका कारण पनि कलेजले थप उचाई प्राप्त गरेको बताए ।
बिएडतर्फ आइसिटी शिक्षा दिनेमा धरानमा पहिलो कलेज धरान मोडल नै रहेको उनले बताए । हाल मोडलमा बिबिएस, बिएड, बिएड आइसिटी पठनपाठन हुने गरेको छ । अहिले धरान–१८ स्थित जेम आवासीय मावि पनि धरान मोडलअन्तर्गत नै सञ्चालित रहेको जनाइएको छ ।
यहाँ प्रस्तुत छ कलेजका प्रिन्सिपल प्रविनसँग गरिएको छोटो कुराकानीः

धरान मोडल कलेज कस्तो कलेज हो ?
शैक्षिक क्षेत्रमा लामो अनुभव सङ्गालेका शिक्षाविद् तथा सफल व्यवस्थापकहरुद्वारा सञ्चालित यो कलेज २०६६ सालमा स्थापना भएको हो । यसले २१ औं शताब्दीको प्रतिस्पर्धात्मक समयमा आफ्ना विद्यार्थीहरुलाई उत्कृष्ट साबित गर्न प्रयत्नरत छ । अनुशासित र सक्षम नागरिक उत्पादन गर्ने लक्ष्य लिएको यस कलेजले शतप्रतिशत रिजल्ट हासिल गर्दै आएको छ । पूर्वमै नतिजा दर हेर्ने हो भने हाम्रो राम्रो छ । त्यसैले यो कलेज गुणस्तरीय शिक्षा दिन हिजो पनि प्रतिबद्ध थियो र आज पनि प्रतिबद्ध छ ।
उत्कृष्ट नतिजाका लागि उचित शैक्षिक वातावरणको महत्वपूर्ण भूमिका रहन्छ भन्ने कुरालाई हेक्का राख्दै हामीले विशेष ध्यान दिएका छौं । दक्ष तथा अनुभवी प्राध्यापक, विद्यार्थी केन्द्रीत शैक्षिक वातावरण, ग्रुप डिस्कसन इत्यादि माध्यमबाट यस कलेजले सरल, सहज र प्रभावकारी ढङ्गबाट गुणस्तर शिक्षा प्रदान गर्दै आइरहेको छ भन्छौं हामी । भनौं, जस्तोसुकै परिस्थितिमा पनि यस कलेजले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न कुनै कसर बाँकी राख्दैन ।
पठनपाठनसँगै अन्य क्रियाकलापमा कलेजको जोड कस्तो छ ?
–गुणस्तरीय शिक्षासँगै विद्यार्थीमा अन्र्तनिहीत प्रतिभालाई उजागर गराउने उर्वर थलोका रुपमा परिचित यस कलेजले विद्यार्थीको व्यक्तित्व विकासका लागि ‘एक्स्टा करिकुलर’ क्रियाकलापहरुमा पनि उत्तिकै जोड दिएको छ । जसअन्तर्गत विभिन्न खालका खेलकुद प्रतियोगितासँगै वर्कसप, सेमिनार, क्यारियर काउन्सेलिङ र क्रियटिभ राइटिङजस्ता बौद्धिक कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।
अन्त्यमा के भन्नुहुन्छ ?
–सफल भविष्य सबैको सपना हो तर त्यो सपना पूरा गर्न सोही अनुसारको शिक्षा र शैक्षिक वातावरण अनिवार्य हुन्छ । के तपाईं पनि आफूले चाहेको पेशामा सफलता हासिल गर्न चाहनु हुन्छ ? यदि चाहनु हुन्छ भने त्यसका लागि आवश्यक शिक्षा र मार्गदर्शन प्रदान गर्न तम्तयार छ, धरान मोडल कलेज ।






















sdr

dav

dav

dav

dav
