धरानः पूर्वकै पर्यटकीय नगर धरान पछिल्लो समय अव्यवस्थित पार्किङले कुरुप बन्दै गएको छ । यसले धरान शहरको सुन्दरता बिग्रनुका साथै दुर्घटनाको जोखिम समेत बढ्दै गएको छ । यसैबीच लक्ष्मीचोक–माछाभौडी सडकमा जथाभावी पार्किङ गरिँदा दुर्घटनाको जोखिम बढेको छ ।
विशेषतः लक्ष्मीचोकदेखि पुरानो बजार क्षेत्रको सडकमा सवारी साधनको अव्यवस्थित पार्किङका कारण समस्या बढ्दै गएको छ ।
अव्यवस्थित सवारी पार्किङले व्यस्त बजारमा दुर्घटना निम्त्याउने र व्यवसायीहरुलाई समेत असहज भएपछि एक साइडमा मात्रै पार्किङ गर्नुपर्ने नियम ल्याइनुपर्ने विषयमा चर्चा हुन थालेको छ । अव्यवस्थित सडकमा पार्किङले पैदलयात्री र व्यवसायीलाई समेत असहज हुने गरेको स्थानीयबासी नै बताउँछन् । ‘खासमा यो सडकमा हेरयो भने दुवैतर्फ पार्किङ हुने गरेको छ, यसले पैदलयात्री साथै व्यवसायी समेत मारमा छन् ।’ एक स्थानीय नाम नछाप्ने शर्तमा भन्छन् ।
सो क्षेत्रमा ठूला तथा हेभी सवारी गुड्छन् । केही महिनाअघिदेखि पहाडी क्षेत्रबाट आउने सार्वजनिक बस पनि लक्ष्मीचोक–माछाभौडी हुँदै आउँछन् । सो क्षेत्र हुँदै ती सार्वजनिक बस आउँदा अस्तव्यस्त पार्किङले दुर्घटनाको जोखिम बढेको स्थानीयबासी बताउँछन् । सडक साँघुरिएपछि पुरानो बजारको व्यस्त बजारमा दिनहुँ सडक जाम हुने थालेको छ । सवारी साधनको पार्किङ व्यवस्थित गर्न हुन नसक्दा जनताले हैरानी व्यहोरिरहेका छन् । जथाभावी पार्किङ हुँदा सवारी आगमनमा समेत अवरोध हुने गरेको छ । अव्यवस्थित पार्किङले सर्वसाधारणको आवागमनमा समेत कठिनाइ हुने गरेको छ ।
केहीदिनअघि धरानस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयमा भएको छलफलका क्रममा ‘वान साइड पार्किङ’ लागू गरिनुपर्ने विषयमा छलफल चलेको थियो । छलफलका क्रममा अधिकांश वक्ताले ‘वान साइड पार्किङ’ लागू गरिनुपर्नेमा जोड दिएका थिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख भुवनबाबु खड्काले छलफलका क्रममा सो ठाउँमा वाइ साइड पार्किङ लागू गर्नुपर्ने विषयमा पनि छलफल भएको बताए । उनले सो सडकअन्तर्गत दुर्घटना न्यूनीकरणका लागि र सडक सुशासन कायम गर्न स्थानीय सरकार र स्थानीयबासी लाग्नुपर्ने बताए । ‘सो सडक अहिले दुर्घटनाको जोखिममा परेको छ, अहिले छलफलकै क्रममा छ, यसको लागि स्थानीय सरकार र स्थानीयबासी तात्तिनुपर्ने र कार्यान्वयनका लागि लाग्नुपर्ने बेला आएको छ ।’ उनले भने ।
उनले मुख्य सडक अहिले पनि अस्तव्यस्त रहने गरेको भन्दै चारपाङ्ग्रे साना सवारी साधन पनि सो स्थानबाटै गुड्दा सहज हुने पनि बताए । ‘अब मुख्य सडकको जाम रोक्ने र सवारी आवागमनलाई सहज बनाउने हो भने चारपाङ्ग्रे साना सवारीको पनि आवागमन लक्ष्मीचोक टु माछाभौडी हुँदै भानुचोक आउने बनाइनुपर्छ भन्ने हो ।’
धरान–भोटेपुल, भानुचौक–छाताचोक, लक्ष्मीचोक–माछाभौडी सडक खण्डमा सवारीहरु चापले दौडिन्छन् तर त्यहाँ नै ट्याक्टर, ट्रकको अनलोड कायमै छ, यस्तै, टेम्पो, सिटी सफारीले पनि लोडअनलोड गरिरहेको पाइएको छ ।
मुख्य सडक, सो सडकमा सामान लोड अनलोडको तालिका पनि मिलाइनुपर्ने उनको धारणा थियो । ‘अहिले पनि मुख्य सडक वा लक्ष्मीचोक–माछाभौडी सडकमा लोड अनलोडको कुनै टुङ्गो छैन, यसतर्फ पनि तालिका मिलाइनुपर्ने आवश्यकता भइसकेको छ ।’
