धरानः पूर्वी पहाडलाई तराई, प्रदेश तथा संघिय राजधानी पुग्नकालागि छोटो सडकको रुपमा लिइएको पाँचथरको गणेश चोकदेखि सुनसरीको चतरा जोड्ने तमोर कोरीडर सडकको काम अन्तिम चरणमा पुगेको छ ।
ग्राबेल स्तरको सडक बनाउने काम सम्पन्न हुन लागेको छ । पाँचथर र धनकुटाको विभिन्न क्षेत्र जोड्ने सडक यो सडक तमोर नदिको नजिकै भएर निर्माण गरिएको छ । पूर्वी पहाडलाई सुविधायुक्त सहर जोड्ने द्रुत सडकको रुपमा लिइएको छ ।
यो सडक बनेसँगै ताप्लेजुङ, पाँचथर, तेह्रथुम र धनकुटाका बासिन्दालाई तराई झर्न सजिलो बन्दै गएको छ । यो सडकको काम ९६ प्रतिसत सकिएको छ । चाँडै ग्राबेल स्तरको सडक निर्माणको काम सकिने तमोर कोरिडोर आयोजनाका प्रमुख सुरेश न्यौपानेले जानकारी दिए ।
तमोर नदिको किनारै किनार १० मिटर चौडा भएको सडकको ट्रयाक निर्माण तथा भएको ट्रयाकलाई स्तरउन्नती गर्ने गरी काम अघि बढाइएको थियो । पाँचथरको गणेश चोकदेखि सुनसरीको चतरासम्म १ सय ५३ किलोमिटर सडक बनेपछि यो क्षेत्रका बासिन्दा उत्साहित थिए । पाँचथरको रानीगाँउमा करिव २ किलोमिटर सडकको ट्याक बन्न बाँकी रहेको छ ।
यहाँ पनि केहीदिनसम्म सडक बनिसक्ने जानकारी दिइएको छ । सडक बनेसँगै यहाँ नियमित बस, जिप, पिकअप जस्ता गाडीहरु चल्न थालेका छन् । सडक नजिकै घर बन्न थालेका छन् । तमोर जलासययुक्त आयोजनाबन्दा असर नपर्ने गरी सडक बनेका छन् ।
६ अर्ब १५ करोड १४ लाख रुपैयाँमा सात प्याकेजमा ठेक्का लागेको थियो । उत्पादित वस्तुको बजारीकरणमा सहज हुनेछ निर्माण सामाग्री ढुवानिमा सहज हुनुका साथै ओलाङ्चुङगोला जोड्ने उतर दक्षिण सडक निर्माणसँगै चिनियाँ र भारतीय बजार जोड्ने महत्पूर्ण सडक बन्ने अपेक्षा राखिएको छ । यो सडक बनेसँगै दैनिक गाडी चल्न थालेका छन् ।
निर्माण क्षेत्रमा निक्कै चहलपहल देखिन्छ । मेसिनरी सामाग्री दौडिएका तथा मानविय चहलपलह बढेको छ । सडक छेउमा घर बनाउने, चिया तथा साना होटलहरु खुल्न थालेका छन् । यो सडकले आर्थिक गतिविधि पनि बढाउन थालेको देखिन्छ । ट्रयाक नखुलेका बाहेकका ठाउँहरुमा गाडी कुद्न थालेका छन् ।
गणेशचोकबाट सुभाङखोला, माझीटार, रानीगाँउ, स्याबरुम्बा, आङ्ना मौवा हुँदै धनकुटा जोडिन्छ । धनकुटाको चौविसे, साधुरे, मूलघाट, त्रिवेणी हुँदै चतरा पुग्छ । गडतिर आपसका बासिन्दाले बढी राहत पाउने बताइन्छ । यो सडकलाई काठमाण्डौसम्म जोड्ने वैकल्पिक राजमार्गको रुपमा यसलाई विकास गर्न खोजिएको छ ।
चतरादेखि खुर्कोटे १ सय ६१ किलोमिटरमा जोडिन्छ । तर यहाँ काम अघि बढ्न सकिरहेको छैन । खुर्कोटदेखि धुलिखेल ६५ किलोमिटर र धुलिखेलबाट काठमाण्डौं ३१ किलोमिटर रहेको छ ।
यो सडक छोएर प्रशस्त ग्रामिण सडकहरु छन् । यो सडकलाई ख्याल गरेर विभिन्न गाउँ जाने सडक बनाउने काम पनि भएको छ । तेह्रथुमतर्फका सडकलाई करिडोरसँग जोड्न तमोर केही ठाउँ पुल बनिसक्नु पर्ने देखिन्छ । तमोर कोरीडर क्षेत्रमा १४ वटा पुल निर्माणका लागि ठेक्का लगाउने तयारी भएको छ ।
ग्राबेल स्तरको सडक बन्ने काम अन्तिम चरणमा पुगेकाले कालोपत्रेका लागि सरकारले काम अघि बढाउनु पर्ने देखिन्छ । कालोपत्रे निर्माणका लागि डिपिआर बनिसकेको छ । कालोपत्रेकालगि ५ अर्ब ८६ करोड रुपैयाँ बराबरको लागत अनुमान गरी फाइल मन्त्रालयमा पुरयाइएको जानकारी दिइएको छ ।
पूर्वी पहाडलाई तराई तथा सुविधायुक्त सहर जोड्ने यो सडक महत्वपूर्ण छ । ग्राबेलसम्मको काम अन्तिम चरणमा पुगेकाले कालोपत्रे गर्नकालागि ठेक्का खुलाउनेतर्फ सरकारको ध्यान पुग्न आवश्यक रहेको छ ।