धरानः धरान आदर्श बोर्डिङ सेकेण्डरी स्कुलमा स्वागत कार्यक्रम सम्पन्न भएको छ ।
कक्षा–१२ विद्यार्थीहरुले कक्षा–११ ाका विद्यार्थीहरुलाई विद्यालयमा स्वागत गरेका हुन् । शुक्रबार दिउँसो विद्यालय परिसरमा कक्षा–१२ का विद्यार्थीले भव्य कार्यक्रम आयोजना गरी ११ कक्षामा भर्ना हुन आउने विद्यार्थीहरुलाई स्वागत गरेका हुन् । स्वागत कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गीत गाएका थिए भने नृत्य प्रस्तुति समेत दिएका थिए ।
कार्यक्रममा विक्रम लिम्बू, सुधन लिम्बू, सुधिर तामाङ, नहेम बोगटी, सुजल राई, जेनी चेम्जोङ र विजय दर्नालले गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए । त्यस्तै, ममता गुरुङ, सेरिङ भोटेले सोलो डान्स गरेका थिए भने ग्रुप डान्सको प्रस्तुति समेत रहेका थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि विद्यालयका प्रिन्सिपल लोकेन्द्र श्रेष्ठले धरान आदर्श धरानकै सबैभन्दा बढी विद्यार्थी भएको विद्यालय भएको दाबी गरे ।
उनले धरान आदर्श उत्कृष्ट विद्यालय रहेको यसको नतिजाले पुष्टि गरेको बताए । उनले धरान आदर्श अतिरिक्त क्रियाकलापदेखि खेलकुदमा समेत उत्कृष्ट हुँदै आएको बताए । उनले विभिन्न खेलकुदमा विद्यार्थीलाई छात्रावृत्ति प्रदान गरिएको र प्रशिक्षकको नियुक्ति गरेर नियमित प्रशिक्षण गराइरहेकोले खेलाडीहरुको निम्ति समेत धरान आदर्श उत्कृष्ट गन्तव्य रहेको दाबी गरे ।
कार्यक्रमको अध्यक्षता कक्षा १२ का विद्यार्थी अर्पण नेपालले गरेका थिए । कार्यक्रममा विद्यालयका करिब ८ सय विद्यार्थीको सहभागिता रहेको थियो भने अभिभावक र शिक्षकहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।
















