धरानः धरान–१२ स्थित धरान मेघा कलेज (हिमालयन प्लस टु) को स्वागत कार्यक्रम सम्पन्न भएको छ ।
धरान–१९ स्थित ब्रिटिस कम्युनिटी हलमा भएको कार्यक्रममा कक्षा–११ मा अध्ययन गर्न आएका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी हिसान सुनसरीका अध्यक्ष मुकुन्द घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै उनले मेघा–हिमालयन कलेज हिसानसँग पनि जोडिएकोमा भन्दै कार्यक्रमस्थलमै बधाईसमेत दिए । उनले कार्यक्रममा विद्यार्थीका प्रतिभा हेरिसकेपछि कलेजका विद्यार्थी प्रतिभावान रहेको बताए । ‘कलेजले निरन्तर प्रगति गर्दै गएको भन्ने कुरा मैले यसअघि पनि सुनेको छु’, उनले भने, ‘यहाँ कार्यक्रममै उपस्थित भएर हेर्दा साँच्चै कलेजले प्रगति गर्दै गएको महसुस गरेको छु, यहाँका प्रतिभावान (गीत र नृत्य पस्किने) विद्यार्थीदेखि म दङ्ग छु ।’
कलेजका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरे, प्रिन्सिपल भास्कर पौडेल, कलेजका बिबिएस कोअर्डिनेटर चन्द्र वनेम, शेयर सदस्य सागर खड्का, प्रभास राजवंशीलगायतले विद्यार्थीहरुलाई अबिर र खदा लगाएर स्वागत गरेका थिए । कार्यक्रममा गायिका अम्बिका दुवाडी र युवा गायक भक्तिराज राईले गीत प्रस्तुत गरे । स्वागत कार्यक्रममा विद्यार्थीहरुले आकर्षक नृत्यका साथै गीतहरु समेत प्रस्तुत गरे ।
नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्ने परम्परालाई कायम राख्न र नयाँ प्रतिभाहरुलाई मञ्च प्रदान गर्नका लागि स्वागत कार्यक्रम आयोजना गरिएको कलेजका एकेडेमिक डाइडरेक्टर घिमिरेले जानकारी दिए । कार्यक्रममा एन–प्याब्सन धरानका अध्यक्ष भगत लिम्बू, प्याब्सन धरानका अध्यक्ष राजकुमार लिम्बू, बोर्ड मेम्बर दीपक घिमिरे, जीवन न्यौपाने, नोवेल एकेडेमीका प्रिन्सिपल रविन न्यौपाने, होटल म्यानेजमेन्ट कोअर्डिनेटर पोषण श्रेष्ठ, शेयर सदस्यहरु जीवन न्यौपाने, दीपेन्द्र यादव, आलोक श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । कलेजका एडमिनिष्ट्रेटिभ डाइरेक्टर कैलाश लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा शेयर सदस्य दीपक घिमिरेले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम सञ्चालन बिबिएस तेस्रो वर्षकी छात्रा आरती बस्नेतले गरेकी थिइन् ।
हाल हिमालयन प्लस टु मा सुनसरी, मोरङ, झापा, इलाम, भोजपुर, संखुवासभा, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, पाँचथर, उदयपुर लगायत प्रदेश नम्बर १ का विभिन्न ठाउँबाट आएका करिब ३ सय ५० जना विद्यार्थीहरु कक्षा–११ मा अध्ययनरत रहेको एकेडेमिक डाइरेक्टर घिमिरे बताउँछन् ।
तस्वीरहरुः हाम्रो कोशी आवाज



























