Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा लिम्बूहरुको स्तम्भ इमानसिंहको सम्झना र चर्चा

हाम्रो कोशी आवाज
पुष १७ २०७८, शनिबार
धरानमा लिम्बूहरुको स्तम्भ इमानसिंहको सम्झना र चर्चा

धरानः इतिहासकार इमानसिंह चेम्जोङको ११९ औं जन्मजयन्ति समारोह कार्यक्रम धरानमा सम्पन्न भएको छ ।
अंग्रेजी सम्वतको पहिलोदिन उनको जन्मदिन भएकाले जनवरी १ तारिखका दिन मनाइँदै आएको छ । धरान–१५ चुम्लुङ हिमस्थित चेम्जोङको शालिकमा माल्यार्पण गरी च्याब्रुङ नृत्यसहितको टोलीले श्रद्धासुमन अर्पण गर्दै उनलाई सम्झना गरिएको छ । सो अवसरमा किरात याक्थुङ चुम्लुङ केन्द्रीय सचिव डा.योगेन्द्र पालुङवाले भने, ‘चेम्जोङ लिम्बू जातिको राजनीतिक, भाषा, संस्कृतिको इतिहासलाई आधिकारिकरुपमा स्थापित गर्ने महान इतिहासकार थिए ।’ उनको ऐतिहासिक खोज, अनुसन्धानबाटै किरात समुदायका इतिहासका आधारहरु तयार भएकोले उनलाई त्रिभुवन विश्वविद्यालयले ‘किरातोलोजिष्ट’को उपाधि दिएको उनले बताए ।
पालुङवाले पछिल्लो समय किरात शव्दलाई लिएर मत विभिन्नता प्रकट भएको पाइने बताउँदै भने, ‘इमानसिंह चेम्जोङका खोज अनुसन्धान त्यस बेलाको समयमा आधिकारीक मानिएको थियो, त्यसमा विमती राख्ने कुरा अहिले बहसको विषय बन्न सक्दैन भन्ने छैन ।’ ऐतिहासिक तथ्यमा त्यस्तो बहस, छलफलबाट निष्कर्ष निकालिनुपर्छ भन्ने कुरामा चुम्लुङ खुला रहेको उनले बताए ।
चुम्लुङ सल्लाहकार हर्ष सुब्बाले भने, ‘इमानसिंह चुम्जोङले लेखेको इतिहास उल्लेख नगर्ने हो भने नेपालकै इतिहासले पूर्णता पाउँदैन ।’ नेपालको राजनीतिक इतिहासमा इमानसिंहले प्राज्ञिकरुपमा लिम्बुवान, किरात प्रदेशका तथ्यहरुलाई स्थापित गर्न महत्वपूर्ण योगदान गरेका छन् । तसर्थ इमानसिंहलाई लिम्बूका भाषा, संस्कृतिका खोजकर्तामा मात्र सीमित गर्न नहुने उनले बताए ।
थाकथाकु माबोहाङ चेमजोङ वंश उत्थान संघका केन्द्रीय सचिवालय सदस्य सुमान चेम्जोङले इतिहासकार इमानसिंह चेम्जोङको योगदानले चेम्जोङ वंशको शिर उचो बनाएपनि उनी चेम्जोङ समुदायका मात्र नभएर राष्ट्रिय विभूति भएको बताए । चेम्जोङको योगदान नेपालकै लागि उल्लेखनीय भएकाले राज्यले उनको सम्मानमा हुलाक टिकट जारी गरेको कुराले स्पष्ट गरेको बताउँदै भने, ‘उहाँको जीवनीबाट लिम्बू समुदायले पहिचानको लागि प्रेरणा लिने धेरै कुराहरु छन् ।’
चेम्जोङको ‘किरातकालीन विजयपुरको इतिहास’मा धरानस्थित विजयपुर लिम्बुवानको राजधानी भएको तथ्यहरुसहित यहाँको दरबारस्थल, हात्तिसार, बुढासुब्बा मन्दिरको इतिहास, भूगोलका बारेमा विस्तृत कुरा उल्लेख छन् । उनको किरात इतिहास, लिम्बू भाषा, संस्कृतिसम्बन्धी दर्जनको संख्यामा प्रकाशित छन् ।
चेम्जोङल त्रिविमा किरातोलोजिष्टका रुपमा गरेका अध्ययन अनुसन्धानका आधारमा सो पुस्तकहरु प्रकाशित गरेका हुन् । जन्म जयन्ति कार्यक्रम थाकथाकु माबोहाङ चेम्जोङ वंश उत्थान संघ र किरात याक्थुङ चुम्लुङ उपमहानगर समितिको संयुक्त आयोजनामा मनाइएको हो । कार्यक्रम चुम्लुङ जिल्ला उपाध्यक्ष स्वर्णिमाहाङ फोम्बोले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति: पुष १७ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend