धरानः पुसे औंसीमा धरान-२० स्थित विष्णुपादुका मन्दिरमा श्राद्ध गर्नेहरुको घुइँचो लागेको छ ।
प्राचीन तथा पौराणिक धार्मिक श्राद्ध तीर्थस्थल विष्णुपादुकामा पौषे औंसीका अवसरमा हजारौं श्रद्धालुको घुइँचो लागेको हो । आफ्नो पितृको मोक्ष प्राप्तिको कामना गर्दै श्राद्ध गर्नेहरुको यसरी घुइँचो लागेको हो ।
यसवर्ष अघिल्लो दिनदेखि नै सो स्थानमा भीड लागेको वडा नं. २० का वडाध्यक्ष मणिराम राईले जानकारी दिए । विगत दुई वर्षचाहिँ कोरोनाका कारणले खासै भक्तजन नआएपनि यसपटक धेरै भक्तजन आएको उनले जानकारी दिए ।
‘यसपटक सो स्थानमा रहेका खाली जग्गा, खोलानाला केहीमा पनि खाली थिएन, सबैजसो स्थान भक्तजनले ढाकेका थिए,’ उनले भने, ‘हजारौं भक्तजनले यसपटक सहभागिता जनाए ।’

उनले शनिबारदेखि नै भीडभाडा भएपनि आइतबार नै तिथी परेकोले तिथीमै श्राद्ध गर्नेको आइतबार भीड देखिएको हो । उनका अनुसार कोकाहा खोलाभरी, बाटोभरी नै भक्तजनका सवारी र भक्तजनहरुले भरिएको थियो । ‘हिजोदेखि भक्तजनको ओहोरदोहोर थियो’, उनले भने, ‘तर आज नै तिथि परेकोले आज झन् बढी भक्तजन ओइरिए र सवारीले सडक समेत जाम बन्यो ।’
२०३५ सालअघिदेखि नै नै तामाङ जातिले पूजाआजा गर्दै आएको सो मन्दिरमा हाल चतुरमान तामाङका छोराहरु इमानसिंह र जहानसिंह तामाङले पूजाआजा गर्दै आएका छन् ।
आफ्ना मातापिता वा पुर्खाको स्वर्गवासको कामनासहित कोका नदीमा पवित्र मनले स्नान गरी शुद्ध भएर यस पावन भूमिमा गई श्राद्ध गर्नाले पितृहरुले मोक्ष प्राप्त गर्छन् भन्ने धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार यस स्थानमा आई श्राद्ध गर्ने प्रचलन रहेको छ ।
रसतलमा डुबाइन लागेको पृथ्वीलाई भगवान् विष्णुले बराह अवतार धारण गरेर सँुढले पृथ्वीको उद्धार गरेर विष्णुपादुकामा गई भगवान् विष्णुले यस क्षेत्रलाई पवित्र श्राद्धस्थलका रुपमा प्रयोग गरेको भन्ने धार्मिक ग्रन्थमा प्रशस्त उल्लेख भएअनुसार हरेक वर्षको पौषे औंसीका दिनदेखि तीन दिनसम्म विष्णुपादुकामा श्राद्ध मेला लाग्दै आएको छ । हिन्दू धर्मावलम्बीले विष्णुपादुका क्षेत्रलाई उत्तरगया भनेर पितृको नाममा श्राद्ध, दान, तर्पण गर्ने गरेको जनाइएको छ ।
