धरानः आइतबार धरान–हिमालयन कलेज प्राङ्गणमा अध्यापक दीपेन्द्र यादव मधेशी समुदायका पोशाकमा देखिए । यस्तै, छात्रछात्रा पनि विभिन्न जातको जातीय पोशाकमै सजिएका थिए । उनीहरु विशेषतः जातीय संस्कृति झल्किने पोशाकमा सजिएर कलेज आइपुगेका हुन् ।
कलेजमा राई, नेवार, लिम्बू, गुरुङ, मगर, तामाङ, शेर्पा, मधेशी समुदाय, खसआर्य समुदायलगायतका भेषभुषा लगाएर विद्यार्थीहरु उपस्थित भएका थिए । कार्यक्रम थियो– राष्ट्रिय संस्कृति दिवसको अवसरमा जातीय पोशाक प्रदर्शनी । प्रदर्शनीमा अचम्म त के थियो भने एउटा जातिको विद्यार्थीले अर्को जातिको पहिरनमा सजिएर आइपुग्नु ।
कार्यक्रममा विभिन्न जातीको भेषभुषामा सजिएका उत्कृष्ट विद्यार्थीलाई सम्मान पनि गरिएको थियो । विभिन्न जातीय संस्कृति झल्काउने भेषभुषा प्रदर्शनीमा राई पहिरनमा सजिएकी छात्रातर्फ बिबिएस प्रथम वर्षमा अध्ययनरत सपना राई र छात्रतर्फ बिबिएस प्रथम वर्षमै अध्ययनरत दीपेस राई लिम्बू पहिरनमा सजिएर प्रथम बनेका थिए ।
त्यस्तै, कक्षा–११ मा अध्ययनरत रिया लिम्बू छात्रातर्फ फष्ट रनरअप बनिन् भने छात्रतर्फ कक्षा–११ कै प्रश्न मगर फष्ट रनरअप भए । विजेताहरुलाई निर्णायकहरु कलेजका होटल म्यानेजमेन्टका विभागीय प्रमुख पोषण श्रेष्ठ, अध्यापकहरु ज्योति थापा मगर र सुनिता पौडेलले ट्रफी र प्रमाणपत्र प्रदान गरे ।
पश्चिमी संस्कृतिको प्रभावले अहिलेका युवापुस्तामा आफ्नो देसको मौलिक संस्कार, भेषभुषाप्रतिको मोह हराउँदै गएको हुनाले आफ्नो मौलिक भेषभुषा, संस्कार, सन्स्कृतिको संरक्षणमा टेवा पुगोस् भन्ने उद्देस्यले प्रत्येक वर्षको एकदिन कलेजका विद्यार्थी, शिक्षक, कर्मचारी सबैले राष्ट्रिय र जातीय भेषभुषा लगाएर कलेजमा आउने संस्कार बनाइएको कलेजका शैक्षिक निर्देशक अर्जुन घिमिरे बताउँछन् ।
युवा विद्यार्थीहरुमा आफ्नो देशको संस्कृति, भेषभुषाप्रति आकर्षण बढोस् भन्ने उद्देस्यले विशेष दिन पारेर आफ्नो आफ्नो जातीय भेषभुषा लगाएर आउन विद्यार्थीहरुलाई भनिएको बिबिएसतर्फका संयोजक चन्द्र वनेमले जानकारी दिए ।
आफ्नो पहिचान, संस्कृति, संस्कार र भेषभुषाको संरक्षण र सम्वद्र्धन गर्नका लागि यस्तो कार्यक्रम राख्नु अत्यन्तै राम्रो भएको बिजेता सपना राईले बताइन् । तस्वीरहरुः हाम्रो कोशी आवाज




















