धरानः धरानमा पर्सि अर्थात् पुस २० गते सार्वजनिक विदा दिइएको जनाइएको छ ।
पुस २०, २१ र २२ गते धरान दिवस (धरान डे) मनाउने निर्णय भएसँगै सार्वजनिक विदाइ दिइएको उपमहानगरपालिको जनाएको छ । धरान उपमहानगरभित्र सार्वजनिक विदा दिइएको उपमहानगरपालिकाले जनाएको छ ।
धरानको १२१ औं वर्ष स्थापना दिवसको अवसरमा हुन लागेको तीनदिने धरान डे उत्सवमा प्रमुख अतिथिकोरुपमा प्रधानमन्त्री शेरबहादुर देउवा धरान आउँदैछन् । धरान–१२ स्थित पब्लिक माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना हुने दिवसको उद्घाटनका अवसरमा उनी नै कार्यक्रमका प्रमुख अतिथि हुन् । पुस २० गते दिउँसो १ बजे उत्सवको औपचारिक उद्घाटन हुनेछ । पहिलो दिन बिहान ११ बजे धरान–१२ स्थित पब्लिक हाइस्कुलबाट सांस्कृतिक झाँकी सहितको रयाली आयोजना हुनेछ भने दिउँसो १ बजे कार्यक्रम उद्घाटन हुनेछ ।
त्यसअघि देउवाले धरानको विभिन्न योजना तथा विकास निर्माणको उद्घाटन र अवलोकन गर्ने कार्यतालिका रहेको उपमहानगरले जनाएको छ । धरान डे उत्वसको औपचारिक उद्घाटन अघि प्रधानमन्त्री देउवाले धरानको वडा नं ४ र १५ को बीचमा सेउती खोला निराजन वस्तीमा निर्माण सम्पन्न भएको पक्की पुलको उद्घाटन गर्नेछन् भने धरान ६ पानवारीस्थित फोहार मैला प्रशोधन केन्द्रको पनि उद्घाटन गर्नेछन् । यस्तै, धरान १२ स्थित पब्लिक हाईस्कुलमा निर्माण भएको प्राविधिक भवनको पनि उद्घाटन गर्ने कार्यक्रम छ भने धरान ८ स्थित निर्माणाधीन स्मार्ट बसपार्कको अवलोकन गर्ने कार्यक्रम रहेको धरानका मेयर तिलक राईले जानकारी दिए ।
धरानको संस्कार संस्कृतिलाई बजारीकरण गर्न सहयोग पुरयाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको महोत्सव मूल आयोजक समितीका संयोजक तथा मेयर राईले बताए । महोत्सवमा स्थानीय समुदायको संस्कार, संस्कृतिलाई संस्थागत गर्दै प्रवद्र्धन गरिने उनको भनाइ छ ।
धरान डे उत्सवमा घुम्न आउने पर्यटकहरूलाई रयाफ्टिङ र प्याराग्लाइडिङ सम्बद्ध पर्यटन व्यवसायीहरूले विशेष छुटको घोषणा पनि गरेका छन् ।
