धरानः धरानमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ ।
धरान उपमहानगरपालिका–१५ मा रोकिराखेको ट्रकमा ठोक्किँदा सोमबार राति साढे ६ बजे धरान–१५ बस्ने ४२ वर्षीय राजेश सिजापतीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी धरानका प्रमुख भुवनबाबु खड्काले जानकारी दिए ।
उनी सोमबार राति साढे ६ बजेको समयमा धरान–१५ को आरालाइनमा रोकिराखेको ना ७ ख ११५८ नम्बरको ट्रकमा वा ५८प८३२८ नंम्बरको मोटरसाइकल आफै ठोकिएर दुर्घटना हुँदा उनको मृत्यु भएको उनले जानकारी दिए । उनी भक्तपुर घर भई धरान बस्दै आएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते बनेका उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, झापाको, झापा गाउँपालिका–१ रसुनामा भएको सवारी दुर्घटनामा घाईते भएका वीरगञ्ज नगरपालिका–५ बाराका २२ वर्षीय गनिया अबदुल मियाँको उपचारको क्रममा बेलुका साँढे ७ बजे बिएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
रसुनाको भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको ना४त ७६६७ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकमा दुर्घटना हुँदा सोही ट्याक्टरका सह चालक मिया घाइते भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।