धरानः प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्ने बताएका छन् ।
धरान दिवस २०७८ (धरान डे) कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रधानमन्त्री देउवाले बीपी प्रतिष्ठान सुधारमा लागिपर्ने बताएका हुन् ।
प्रतिष्ठानमा गरिएको छानबिनको प्रतिवेदनहरुअनुसार आवश्यक कारवाहीलाई सरकारले चाँडै सार्वजनिक गर्ने उनले बताए । प्रधानमन्त्री देउवा आफै पनि प्रतिष्ठानको कुलपति छन् । उनले धरानलाई शिक्षा र स्वास्थ्यको हब बनाउन लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।
धरानको विकासमा थप योजना ल्याउने बताउँदै धरानलाई शैक्षिक हबको रुपमा विकास गर्न यहाँ स्थित रहेका केन्द्रिय प्रविधि क्याम्पस, पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पस, पिण्डश्वर विद्यापीठ र महेन्द्र बहुमुखी क्याम्पसको स्तरवृद्धि गरिने उनको भनाइ थियो ।
प्रधानमन्त्री देउवाले धरान विविध जातिको सांस्कृतिक विशेषता भएको शहर भएको बताउँदै धरान उत्सवको आयोजनाबाट नयाँ उत्साह ल्याउने विश्वास व्यक्त गरे ।
उत्सव कार्यक्रममा मेयर तिलक राईले धरान उत्सव धरान हिजो जे जस्तो भएपनि आज कस्तो छ भन्ने देखाउन आयोजना गरिएको बताउँदै भने, ‘धरान अहिले जे जस्तो अवस्थामा छ, त्यसलाई धरानबासीकै सहभासगतामा देखाउन उत्सव अयोजना गरिएको हो, धरानमा नभएको र ठूलो कुरा देखाउने उत्सवको उद्देश्य होइन ।’
मेयर राईले उत्सवले धरानबासीमा धरानको विकासमा अझ केही गर्नुपर्छ भन्ने अनुभूति दिलाउन सके उत्सव सफल हुने बताए । उपमेयर मञ्जु भण्डारीले धरानको विकासका गतिविधिको बारेमा प्रकाश पारिन् ।
नेकपा एमालेका नेता एवं प्रतिनिधिसभा सदस्य जय कुमार राईले प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिले धरानको गरिमा बढेको बताए । प्रधानमन्त्री देउवाको आगमनले धरानको विकासमा टेवा पुग्ने उनको भनाई थियो । नेता राईले धरानमा खानेपानी र बेरोजगारी समस्याको कारण व्यापार बसाईसरेको स्मरण गराए । धरान स्थापना भएको १२१ वर्ष भएकाले अब ऐतिहासिकतालाई जोगाउन समग्र विकासमा बजेट विनियोजन गर्न पनि उनले आग्रह गरे ।
उत्सव कार्यक्रममा विकासको १२१ औं वर्षको क्रममा रहेको धरान केन्द्रीय सरकारबाट विभेदमा पर्दै आएको चर्चा गर्दै प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई, प्रदेश सभामुख प्रदीपकुमार भण्डारी, प्रदेश प्रमुख पर्शुराम खापुङ र कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बे लगायतले प्रधानमन्त्रीसँग राष्ट्रिय गौरवका योजना ल्याउन ध्यानाकर्षण गराएका थिए । सय वर्ष नाघेको शहरको नयाँ पहिचान बन्दै जानुपर्नेमा राज्यले ओझेलमा परेको हुँदा धरान भएको पहिचान समेत गुमाउने अवस्थामा रहेको उनीहरुको भनाई थियो ।
प्रधानमन्त्रीद्वारा पार्टी कार्यालय भवन उद्घाटनदेखि बसपार्कसम्मको अवलोकन
प्रधानमन्त्री शेरबहादुर देउवाले धरान वडा नं. २ स्थित नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ को नवनिर्मित पार्टी कार्यालय भवनको मङ्गलबार नै उद्घाटन गरेका छन् । मेयर राईकै नेतृत्वमा धरानमा पार्टी कार्यालय भवन निर्माण भएको हो । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले धरानमा कांग्रेस बलियो हुँदै गएको बताए । सो कार्यक्रममा मारवाडी सेवा समाजका अध्यक्ष अनिल अग्रवालसहित पाँच जनाले नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
प्रधानमन्त्री देउवाले धरान ६ पानवारी स्थित निर्माण भएको फोहोरमैला प्रशोधन केन्द्रको पनि उद्घाटन गरे । त्यसपछि प्रधानमन्त्री देउवाले धरान–८ स्थित तीनकुने सुन्दर वस्ती विकास आयोजनामा बन्दै गरेको बसपार्कको समेत अवलोकन गरे । उनले धरान–१२ स्थित निर्माण भएको प्राविधिक शिक्षालय भवनको समेत उद्घाटन गरे । उत्सवस्थलमा आउनुअघि प्रधानमन्त्री देउवा विकास कार्यको अवलोकन, उद्घाटनस्थलमा जाने आउने क्रममा भएको चहलपहलले सर्वसाधारणमा धरान उत्सवप्रति चासो बढाएको छ ।
पूर्व नगर प्रमुखदेखि स्वास्थ्यकर्मीसम्म सम्मानित
धरान उत्सव २०७८ को अवसरमा धरान नगरपालिका र नगर पञ्चायतको नेतृत्व गरेका दिवंगत प्रमुख, सामाजिक संघ संस्था, खेलकुद संस्था र स्वास्थ्यकर्मीलाई सम्मान गरिएको छ ।
दिवंगत प्रमुख तथा कार्यवाहकहरुमा स्व. केदारनाथ खनाल, स्व. सूर्यप्रसाद उपाध्याय, स्व. कृष्णप्रसाद श्रष्ठ, स्व. गोबिन्द मोक्तान, स्व. इन्द्रप्रसाद श्रेष्ठ तथा स्व. ध्यानबहादुर राई, स्व. तारा सुब्बाको सम्मान गरिएको हो । उनीहरुको परिवारका सदस्यहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले मरणोपरान्त सम्मान पत्र प्रदान गरेका थिए ।
यसैगरी, फुटबल खेलमार्फत धरानलाई चिनाउन महत्वपूर्ण भूमिका खेल्ने दुई संस्था धरान फुटबल क्लब र गोधुली क्लबलाई पनि सम्मान गरिएको छ । यसैगरी कोभिड १९ को बेला अहोरात्र रुपमा खटिएकी स्वास्थ्यकर्मी चन्द्रकला राई र लुना अधिकारीलाई सम्मान गरिएको छ भने बीपी प्रतिस्ठान धरानका डेपुटी डाइरेक्टर विकास शाहलाई पनि कोभिडको महामारीमा कोभिड रेस्पोन्स टिमको संयोजक रही महत्वपूर्ण भूमिका खेलेको भन्दै सम्मान गरिएको छ ।
यसैगरी धरानलाई देश तथा विदेशमा चिनाउनका लागि महत्व योगदान पुर्याएको भन्दै धरान रन समूहलाई पनि सम्मान गरिएको छ । त्यस्तै, समाजमा महत्वपूर्ण योगदान पुरयाएका सामाजिक संस्था सेवक अभियान र होप धरानलाई पनि सम्मान गरिएको छ । उनीहरुलाई पनि प्रधानमन्त्री देउवाले कदर पत्र प्रदान गरेका थिए ।
















