धरानः धरान उत्सव २०७८ को अबसरमा साइकल रयाली कार्यक्रम गरिएको छ ।
उत्सवको दोस्रोदिन बुधबार धरान उपमहानगरपालिका परिसरबाट साइकल रयाली कार्यक्रम गरिएको हो । १२१ औं धरान उत्सवको अवसरमा उपमहानगरपालिका र सुनसरी साइकल संघको समन्वयमा साइकल रयाली गरिएको हो । उपमहानगरपालिका परिसरबाट सुरु भएको साइकल रयाली दुर्गाचोक, बुद्धचौक, रत्नचौक, बीपी क्याम्प गेट, शिवमार्ग, रमाइलो चौक, पुतलीलाइन, भानुचौक, छाताचौक हुँदै नगरपालिकामा आएर टुङ्गिएको सुनसरी साइकल संघका अध्यक्ष राजेन्द्र लिम्बूले जानकारी दिए । साइकल रयालीमा धरानका राष्ट्रिय तथा खाफ च्याम्पियनसीप खेलाडीहरु र उपमहानगरपालिकाका कर्मचारीहरुले सहभागिता जनाएका थिए ।
मेयर तिलक राईले पर्यटन प्रवद्र्धनका लागि साइकल रयाली कार्यक्रमको आयोजना गरिएको बताए ।
‘धरान डे’ मैत्रीपूर्ण फुटबल बराबरी
यसैबीच धरान उपमहानगरपालिकाले उद्योग वाणिज्य संघ सुनसरीसँग ‘धरान डे’ मैत्रीपूर्ण फुटबलमा बराबरी गरेको छ । धरान–१६ स्थित रंगशालामा बुधबार भएको खेलमा उपमहानगरपालिकाले उद्योग वाणिज्य संघसँग २–२ गोलको बराबरी खेलेको हो । खेलकुदको प्रवद्र्धन गर्नका लागि १२१ औं धरान स्थापना दिवसको अवसरमा उपमहानगरपालिकाले मैत्रीपूर्ण फुटबलको आयोजना गरेको हो ।
सुरुवाती अग्रता गरेको उपमहानगरपालिकाले दोस्रो हाफमा अग्रता जोगाउन सकेन । खेलको १२ औं र १९ औं मिनेटमा उपमहानगरपालिका दुई खेलाडीले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए भने १६ औं मिनेटमा बाणिज्य संघका एक खेलाडीले गोल गरेका थिए । दोस्रो हाफको १७ औं मिनेटमा वाणिज्य संघका एक खेलाडीले पुनः एक गोल गरेपछि धरान डे मैत्रीपूर्ण खेल बराबरी भएको हो । मैत्रीपूर्ण फुटबल खेलमा उपमहानगरपालिकाका मेयर तिलक राई र उपमेयर मञ्जु मण्डारी पनि सहभागी भएका थिए ।