धरानः धरानमा दोस्रो अशोक स्मृति रनिङ कप बास्केटबल प्रतियोगिता २०७८ आयोजना हुने भएको छ ।
धरानमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले २०७८ माघ १ गतेदेखि प्रतियोगिता आयोजना हुने जनाएको हो । डायनामिक युथ क्लबको आयोजना र हाम्रो कलेक्सनको संयोजनमा पूर्व राष्ट्रिय खेलाडी रवि बास्फोरका बुबा स्व. अशोक बास्फोरको स्मृतिमा प्रतियोगिता आयोजना हुने जानकारी दिइएको छ ।
कार्यक्रम संयोजक रवि बास्फोरले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको खेल मैदानमा प्रतियोगिता आयोजना हुने जानकारी दिए । उनका अनुसार प्रतियोगितामा दमक, बिर्तामोड, विराटनगर, तरहरा, धरानलगायतका १० टिमले सहभागिता जनाउनेछन् ।
प्रतियोगितामा बिजेता टिमलाई ५५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र, दोस्रो हुने टिमलाई नगद २५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै, उत्कृष्ट खेलाडीलाई ट्रफी, प्रमाणपत्र, बास्केटल जुत्ता प्रदान गरिनेछ भने डिमाण्डु ज्वाइँखाना म्यान अफ दि म्याचलाई तीन हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने उदयीमान खेलाडीलाई ट्रफी, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।
प्रतियोगिताको फाइनल खेलअघि प्रतियोगितामा सहभागी खेलाडीहरुबीच थ्री पोइन्ट कम्पिटिसन समेत गराइनेछ । थ्री पोइन्ट कम्पिटिसन बिजेता खेलाडीले नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।