धरान्ः किरातीहरुको नयाँ वर्ष यलम्वर समवत ५०८२ (यलेदोङ) को अवसरमा अन्तर प्लस टु लेवल महिला थ्री वाइ थ्री बास्केटबल प्रतियोगिता हुने भएको छ ।
किरात राई यायोक्खा सुनसरीको आयोजनामा शनिबार धरान–१९ स्थित हरियाली बास्केटवल कोर्टमा एकदिने बास्केटबल प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा धरानका १० टिमले सहभागिता जनाउने भएका छन् । हिमालयन मेघा ए र वि, विष्णु मेमोरियल ए र वि, धरान आदर्श ए र वि, सुनाखरी, सियोन, डिपोट र होलिल्याण्ड स्कुल रहेका छन् । बिजेता खेलाडीहरुले ५ हजार रुपैयाँ, उपविजेताले ३ हजार रुपैयाँ, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन । उत्कृष्ट खेलाडी बिजेताले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।
किरातीहरुले माघ १ लाई यलम्वर सम्वतको रुपमा नया वर्ष मान्दै आइरहेको छ । विगतका वर्षमा एकदिनको कार्यक्रम गरेर मनाउँदै आइरहेको किराया सुनसरीले यसपटक भने भव्यरुपमा नयाँ वर्ष मनाउन किराती समुदायलाई आह्वान गर्दै सात दिने कार्यक्रम आयोजना गरिरहेको छ ।
सात दिने कार्यक्रमअन्र्तगत पत्रकार सम्मेलन र नेपाल पत्रकार महासंघ, सुनसरी टिमसँंग मैत्रीपूर्ण खेल खेलिसकेको छ । शनिबार एकदिने बास्केटबलसँगै किरातीहरुको घरघरमा यायोक्खाको झण्डा फहराउने, किरात नयाँ वर्षको शुभकामना सन्देशसँगै ८२ वटा बेलुन किरातीहरुको ऐतिहासिकस्थल विजयपुर डाँडाबाट उडाउने, किरातीहरुको घरमा दिपावली गर्ने र पौष ३० गतेको दिन धरानको भानुचौकमा स्टलसहितको भव्य स्टेज निर्माण गरिनेछ ।
स्टलमा विभिन्न जातिको परिकार पाइनेछ । ११ बजेदेखि साकेला नाच हुने, कार्यक्रममा किरात प्रदेश किन ? भन्ने विषयमा मदन पुरस्कार बिजेता साहित्यकार राज मुकारुङद्वारा कार्यपत्र प्रस्तुत गर्ने र साँझ नेपालकी चर्चित कलाकार मेलिना राई, हाँस्य कलाकार विल्सन विक्रम तक्मेबुढा र स्थानीय कलाकारहरुको प्रस्तुतिमा रमाउँदै किरातीहरुको नयाँ वर्ष यलम्वर सम्वत ५०८२ को स्वागत गर्ने कार्यक्रम रहेको छ ।
किराती संस्कृति प्रर्वद्धनसँगै १ न. प्रदेश, किरात प्रदेश अभियानलाई जोडेर यायोक्खाले नयाँ वर्ष भव्य रुपमा मनाउन लागेको हो ।