धरानः धरानमा प्रत्येक वर्ष हुने वडास्तरीय प्रतियोगिता गोधुली कप फुटबल प्रतियोगिता भोलिदेखि शुरु हुने भएको छ ।
भोलिदेखि सुरु हुने २२ औं गोधुली फुटबल रनिङ कप प्रतियोगितामा धरानका २० वटै वडाले प्रतिष्पर्धा गर्ने भएका छन् । भोलि हुने उद्घाटन खेल वडा नं. १५ र वडा नं. ३ का बीच धरान रंगशालामा ठीक ३ बजेदेखि सुरु हुने भएको छ । धरान–१७ को गोधुली क्लबले २०५० सालदेखि शुरु गरेको वडास्तरीय गोधुली कपको बिजेताले यसवर्ष नगद रु १ लाख ५० हजार र उपविजेताले नगद रु. ७५ हजार पुरस्कार प्राप्त गर्ने आयोजक गोधुली क्लबले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । साथै प्रतियोगिताको विजेता तथा उपविजेता टोलीलाई धरान वडा नं. १८ का वडाध्यक्ष प्रविण राईले रु. २५–२५ हजार थप पुरस्कार दिने घोषणा गरेका छन् ।
प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गर्ने ८ वटा टोलीले धरान लिग खेल्न पाउने भएको छ । धरान उपमहानगरपालिकाले आयोजना गर्ने लिगमा शीर्ष ८ टिमलाई अवसर दिइने सहमती भएको क्लबले जनाएको छ । धरानमा वडास्तरीय फुटबल प्रतियोगिताको आयोजना गरी फुटबल विकास गर्ने अवधारणा प्रस्तुत गर्ने स्व. सुवास राईको स्मृतिमा उपमहानगरपालिकाले लिगको आयोजना गर्ने तयारी गरेको क्लबले जनाएको छ ।
प्रतियोगिता भोलि पुस २४ गते शनिबारदेखि धरान–१६ स्थित रंगशालामा शुरुभइ माघ ८ गते फाइनल खेल हुने गोधुली क्लबले तालिका समेत सार्वजनिक गरेको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भइसकेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ भने प्रतियोगितामा धरानको वडा कार्यालयहरुले आफ्नो वडाका खेलाडीहरु समेटेर फुटबल टिम तयार गरी सहभागिता गराउने गरेको छ ।
प्रतियोगिता सम्पन्न गर्न धरान उपमहानगरपालिकाले निरन्तर संयोजन गरेको छ भने गोर्खा ब्रुअरी प्रालिले पनि निरन्तर रुपमा प्रायोजन गरिरहेको क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिए ।