धरानः धरान–१६ स्थित युएन, नवोदय कलेजमा खेलकुद सप्ताह-२०६८ शुरु भएको छ ।
खेलकुद सप्ताहअन्तर्गत खेलकुदसँग विभिन्न खेलहरु खेलाइने क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले जानकारी दिए । उनका अनुसार फुटबल, भलिबल, ब्याडमिन्टन, टेबलटेनिस, बास्केटबल, फुटसल, टिटी, चेस, क्यारामबोर्ड, म्युजिकल चेयरलगायतका खेलकुदहरु शुरू भएका हुन् । प्रत्येक वर्षजस्तै यसवर्ष पनि खेलकुद सप्ताह शुरू भएको उनले जानकारी दिए । खेलकुदमा कक्षा–११, १२ र बिबिएसका विद्यार्थी सहभागी हुनेछन् ।
कलेजका अध्यक्ष ज्ञानेश्वर झाले खेलले विद्यार्थीहरुको शिक्षण सिकाइमा समेत प्रत्यक्ष सहयोग गर्ने भएकोले कलेजमा खेल अनिवार्य रहेको बताए । उनले पढाइका साथै अन्य अतिरिक्त क्रियाकलापमा पनि कलेजले सक्दो जोड दिँदै अघि बढेको बताए । ‘हामीले कलेजकै विद्यार्थीहरुबीच प्रतिस्पर्धा गराउँदै आएका छौं’, उनले भने, ‘यसले विद्यार्थीको प्रतिभा बाहिर निस्किन्छ साथै खेलजस्तो क्रियाकलापले विद्यार्थीको सिकाइमा पनि सहयोग पुग्छ ।’
प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरुलाई खेलकुद सप्ताहको अन्तिम दिन पुरस्कार प्रदान गरिने जनाइएको छ । उनीहरुलाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रमाणपत्र प्रदान गरिने क्याम्पस प्रमुख तुम्बापोले जानकारी दिए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज










