Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको विजयपुरबाट ८२ वटा बेलुन उडाइयो

हाम्रो कोशी आवाज
पुष २९ २०७८, बिहिबार
धरानको विजयपुरबाट ८२ वटा बेलुन उडाइयो

धरानः किरातीहरुको नयाँ वर्ष यलम्बर सम्वत ५०८२ (यलेदोङ) को अवसरमा धरान–१४ स्थित विजयपुर चोकबाट ८२ वटा बेलुन उडाइएको छ ।
किरातीहरुको ऐतिहासिकस्थल विजयपुर डाँडाबाट किरात नयाँ वर्षको शुभकामना सन्देशसँगै ८२ वटा बेलुन उडाइएको किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले जानकारी दिए । किरातीहरुले माघ १ लाई यलम्बर सम्वत्को रुपमा नयाँवर्ष मान्दै आइरहेको छ । त्यही अवसरमा प्रचारात्मक अभियानस्वरुप साथै यलम्बर सम्वतमा सार्वजनिक विदा दिइनुपर्ने माग गर्दै कार्यक्रम राखिएको उनले जानकारी दिए ।
विगतका वर्षमा एकदिनको कार्यक्रम गरेर मनाउँदै आइरहेको किराया सुनसरीले यसपटक भने नयाँवर्ष मनाएको हो । यो बेलुन उडाउने कार्यक्रम छैटौं कार्यक्रम हो । यसअघि विविध कार्यक्रम सकिइसकेको छ ।
बिहीबार धरान–१४ विजयपुर चोकमा भेला भएका किरात समुदायका व्यक्तित्वहरुले सो बेलुन उडाएका थिए । कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिका पर्यटन समितिका संयोजक किशोर थुलुङ, विशेष अतिथि धरान–१४ का वडाध्यक्ष कृष्ण भट्टराई, निवर्तमान अध्यक्ष निवर्तमान अध्यक्ष बलराम राईलगायतले सो बेलुन उडाएका थिए ।
बेलुनमा ‘आइ लभ यु’ लेखिएको थियो भने बेलुनसँगै उडाइएको प्रचारको ब्यानरमा १ नम्बर प्रदेश किरात प्रदेश, यलम्बर सम्वत ५०८२ को हार्दिक शुभकामना व्यक्त गर्दछौंलगायत लेखिएको छ । बेलुनसँगै उडाइएको ब्यानर भेट्नेलाई किरायाले पुरस्कृत पनि गर्ने सचिव नविन राईले जानकारी दिए । उनले लेखिएको ब्यानर भेट्नेलाई २५ सय रुपैयाँ प्रदान गरिने घोषणा पनि गरे ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पर्यटन समितिका संयोजक थुलुङले किरात समुदायको संस्कार, संस्कृतिबारे नयाँ पिढीलाई पनि सिकाउँदै जानुपर्ने धारणा राखे ।
कार्यक्रममा विशेष अतिथि भट्टराईलाई सम्मानस्वरुप फेटा गुथिएको थियो । विशेष अतिथि भट्टराईले विजयपुर चोकमा केहीबेर साकेला नाचेका पनि थिए ।
पौष ३० गतेको दिन धरानको भानुचौकमा स्टलसहितको सातौं कार्यक्रम राखिएपनि सो कार्यक्रम भने कोरोना कहरका कारण नहुने भएको छ । त्यहाँ ११ बजेदेखि साकेला नाच हुने, कार्यक्रममा किरात प्रदेश किन ? भन्ने विषयमा मदन पुरस्कार बिजेता साहित्यकार राज मुकारुङद्वारा कार्यपत्र प्रस्तुत गर्ने र साँझ नेपालकी चर्चित कलाकार मेलिना राई, हाँस्य कलाकार विल्सन विक्रम तक्मेबुढा र स्थानीय कलाकारहरुको प्रस्तुति रहने भनिएको थियो ।
यलम्बर सम्वतमा विदा दिन माग
किरात राई यायोक्खाले यलम्बर सम्वतमा विदा दिन माग गर्दै अभियानका रुपमा अघि बढाउँदै आएको अध्यक्ष राईले जानकारी दिए । उनले वर्षौदेखि यस विषयमा कुरा उठाइए पनि राज्यले सुनेपनि नसुनेजस्तो गरेको गुनासो समेत गरे । ‘यलम्बरले शुरु गरेको मौलिक सम्वतलाई संरक्षण गर्ने र सरकारबाट सम्वतलाई मान्यता प्रदान गराउँदै नेपालको राष्ट्र सम्वतकोरुपमा स्थापित गर्ने लक्ष्य हाम्रो हो’, उनले भने, ‘तर राज्यले हाम्रो कुरा सुनेन ।’ उनले यलम्वर सम्वतमा विदा दिनुपर्ने माग गरे ।
यायोक्खाका निवर्तमान अध्यक्ष बलरामले आदिवासी जनजातिको पहिचानसँग जोडिएको सम्वतलाई बेवास्ता गरिएको बताए । ‘दुर्भाग्य भन्नुपर्छ, यो आदिवासीको पहिचान जोडिएको यलम्बर सम्वतलाई नेपालले स्वीकारेर व्यवहारमा लागू गरेको पाइँदैन’, उनले भने, ‘विक्रमादित्यको नामबाट चलेको वि.सं.अनि इस्वी सम्वत्लाई नेपाल राज्यले मान्यता प्रदान गरी सरकारी कामकाजमा ल्याएको पाइन्छ ।’, उनले थपे, ‘यलम्बर सम्वत पहिचानसँग जोडिएको हो, राज्यको नीतिले नै विदेशी माटो र पहिचानसँग जोडिएको साल सम्वतलाई मान्यता दिने गरेपनि यसलाई दिइएको छैन, लामो राजनीतिक परिवर्तन पश्चात् नेपालमा भएको सङ्घीय संरचनासँगै हाम्रो राष्ट्र गान पनि फेरियो र राष्ट्र गानमा सधैं हामी ‘बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल, अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल’ भनी गुनगुनाउँछौं तर यसलाई व्यवहारिकरूपमा पालन भएको, लागू भएको देखिदैन ।’
उनले यलम्वर सम्वतलाई स्थापित गर्न आफूहरु लागिपरेको बताए । उनले भने, ‘नेपालको इतिहासमा किरातीहरुले ३२ पुस्ता काठमाडौंमा शासन गरेको पाइन्छ । पहिलो किराती राजा यलम्बर हुन्, उनले सुरु गरेको यो सम्वत मौलिक हो र यसलाई नेपाल सरकारबाट मान्यता दिएर स्थापित गराउने हाम्रो माग र उद्देश्य हो ।’
प्रथम किरात राजा यलम्बर हाङको स्मृतिमा किरात येले सम्वत् प्रचलनमा छ । यसलाई किरात सम्वत् भनेर हरेक माघ १ गते नयाँ वर्षको रुपमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । किरात समुदायले यलम्बरप्रति गौरव गर्दछन् । किरात समुदायभित्र राई, लिम्बु, याक्खा, सुनुवार, हायु, सुरेल, जिरेललगायत पर्दछन् । जानकारका अनुसार किरात येले सम्वतलाई येले तङ्बे, येले दोङ, येले थोचे आदि भनेर मनाउने गर्दछन् ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: पुष २९ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend