इलामः १८ वर्षीय किशोरीको हत्या गरी फरार रहेका फरार एकजना २० वर्षपछि पक्राउ परेका छन् ।
२०५८ साल माघ ६ गते भएको हत्याको घटनामा संलग्न रहेका इलामको साविक पशुपतिनगर–३ का ४१ वर्षीय ‘गोरे’ भनिने मनकुमार राईलाई घटनाको २० वर्षपछि पक्राउ गरिएको हो ।
इलामकै कन्याम घर भई आफ्नो माइती घर आएको समयमा खुर्पाले घाँटीमा प्रहार गरी हत्या गरेको खुल्न आएको छ । अनुसन्धानको क्रममा घटनाको प्रकृति र पक्राउ परेका अभियुक्तले दिएको बयानको आधारमा मनकुमारले रोजिना राईको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए ।
२०५८ साल माघ ६ गते राति ८ बजेको समयमा गाईगोठमा काम गरिरहेकी रोजिनालाई मनकुमारले आफूसँगै जान आग्रह गरेको र जान नमानेपछि जबरजस्ती तानेर लगेको तानेर लैजाने क्रममा रोजिना लडेर घाइते भएकी थिइन् । आफूलाई थप आरोप लाग्न सक्ने साथै म आफू फँस्छु भन्ने डरले मनकुमारले रोजिनाको हत्या गरेको पनि अनुसन्धानको क्रममा खुल्न आएको उनले जानकारी दिए ।
प्रहरीले पत्रकार सम्मेलन गर्दै घटना सार्वजनिक गरेको छ । त्यसबेला छिमेकी भीममाया राईको घरबाट पश्चिमतर्फको बाटोभन्दा केही तल रोजिनाको शव भेटिएको थियो । आरोपितले रोजिनालाई लिएर दिदी चमेलीको घरमा जाने क्रममा बाटोबाट लडेर डिलमुनि खसेर रुन थालेपछि म आफू फस्छु भनेर रोजिनाले बोकेकै हतियार घाँटी रेटेर हत्या गरेको स्वीकार गरेको उपरीक्षक श्रेष्ठले जानकारी दिए । प्रहरीले घटनाको मुचुल्का, मिसिल, फोटो अध्ययन शुरु गरेको जनाएको छ । त्यसलाई हेर्दा यौनजन्य क्रियाकलाप हो कि भन्ने पनि शंका रहेको र खुलिनसकेको बताइएको छ ।