धरानः धरान-१ स्थित धरान उच्च माविमा खेलकुद डे आयोजना भएको छ ।
कक्षा–११ र १२ को विज्ञान सङ्कायअन्तर्गतका विद्यार्थीहरुबीच खेलकुद डे आयोजना भएको ‘साइन्स कोअर्डिनेटर’ सुनिल भगतले जानकारी दिए । डेअन्तर्गत ब्याडमिन्टन, फुटसल, चाइनिज चेकर, चेस, बास्केटबललगायतका खेलहरु आयोजना भएको उनले जानकारी दिए ।
यसैबीच बिहीबार धरान–१५ स्थित बिग फुटसलमा भएको फुटसल प्रतियोगितामा ‘साइन्स ए’ विजयी बनेको छ । ए, बि, सी, डी सेक्सनबीच भएको प्रतियोगिता ए विजयी बनेको हो ।
यसअघि कलेजको म्यानेजमेण्टलगायतको सङ्कायबीच पनि खेलकुद सप्ताह आयोजना भएको थियो । अनुशासन, गतिशलिता र स्वास्थ्यका लागि खेलकुद अपरिहार्य हुने भएकाले विद्यार्थीहरुमा खेल प्रतिभाको विकास गर्ने उद्देश्यले कलेजभित्र यस्तो प्रतियोगिता आयोजना गरिएको प्रिन्सिपल राजविमल श्रेष्ठले जानकारी दिए ।
‘शिक्षा भनेको किताबभित्रको कुरा जानेर ब्याख्या गर्नेमात्र नभई व्यवहारिक जीवनका अनेकन पाटाहरू बुझ्नु, अनुभव गर्नुपनि हो’, उनले भने, ‘त्यही भएर प्रतिभा बाहिर निकाल्न यस्तो प्रतियोगिता आयोजना गरेका हौं ।’
उनले कलेजले पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि सक्दो जोड दिँदै अघि बढेको समेत बताए । ‘हामी पठनपाठनमा जति अगाडि छौं र विद्यार्थी पनि त्यति नै अगाडि छन्’, उनले थपे, ‘अतिरिक्त क्रियाकलापमा पनि जोड दिँदै आएका छौं र हाम्रा विद्यार्थी पनि अब्बल र अगाडि नै छन् ।’
तस्वीरहरुः हाम्रो कोशी आवाज














