धरानः सर्दुखोलाबाट ढुङ्गा, गिट्टी, वालुवा निकाल्ने क्रममा भएको झडपका क्रममा ‘आक्रमणमा संलग्न’ भनिएका व्यक्तिहरु पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सेते भनिने नरसिंह राई र जीवन राई रहेका छन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र बस्नेतले उनीहरु दुवैजना अन्य ‘केस’ मा पक्राउ गरिएको बताए । उनीहरु कुटपिटकै अर्को ‘केस’ मा पक्राउ गरिएको उनले जानकारी दिए । ‘खासमा उनीहरु दुवै कुटपिटकै विषयको अर्को केसमा पक्राउ परेका हुन्’, उनले भने, ‘अहिले पनि थप अनुसन्धान भइरहेको छ ।’ यी दुवैजना सर्दुखोलाको झडपको क्रममा आक्रमणमा पनि संलग्न भनिएका व्यक्तिहरु समेत रहेको पाइएकोले यस विषयमा पनि थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
सर्दुखोला उत्खननका बेला कुटपिटबाट घाइते भएका राजेश राईले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएका थिए । सो घटनामा संलग्न चारजनालाई पक्राउ गर्न सुनसरी जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि उनीहरु गत पुस २९ गते नै अर्कै ‘केस’ पक्राउ परेका थिए । ‘तर अहिले दुवै केसबारे अनुसन्धान भइरहेको छ, दुवै केसमा उनीहरुविरुद्ध मुद्दा चल्न सक्छ ।’ डिएसपी कुँवरले भने ।
दुईजना भने अझै फरार रहेकोले घटनामा संलग्न दुईजनालाई समेत पक्राउ गर्न समाजवादी युवा संघ प्रदेश १ समितिले माग गरेको छ । दुईजना पक्राउ परेपनि थप दुईजना पक्राउ नपरेपछि संघले विज्ञप्ति नै जारी गर्दै पक्राउ गर्न माग गरेको हो ।
संघले विज्ञप्ति जारी गर्दै धरान–१७ का किरण राई र धरान–११ का रविन राईलाई पनि पक्राउ गर्न माग गरेको हो । संघका प्रदेश नं. १ समिति अध्यक्ष श्री सुब्बाद्वारा हस्ताक्षरित विज्ञप्तिमा गत वैशाख २३ गतेका दिन धरान उपमहानगरपालिका सर्दुखोलामा चुरे दोहन हुँदै गर्दा आम धराने जनताहरुले मापदण्डविरुद्ध उत्खनन् भएकोबारे बुझ्न जाँदा सेते भनिने नरसिंह र जीवन सहित २०–२५ जनाको झुण्ड आएर ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको लेखिएको छ ।
‘सर्दु खोलाको गिट्टी बालुवा उत्खनन् कार्यको विरोध हुनु गतिशील समाजको प्रमाण’ भएको भन्दै संघले दोषीहरुलाई हदैसम्मको कानुनी कारवाहीको माग गरेको छ ।
धरान १७ र २० को बीच भई बग्ने सर्दु खोलामा नदीजन्य सामाग्री उत्खनन भइरहेको ठाउँमा पुगेर रोक्न खोज्दा राजेशसहित आधा दर्जनभन्दा बढी घाइते भएका थिए । त्यतिबेलाको झडपमा ठेकेदार पक्ष र सेते पक्षका युवाहरूको आक्रमणबाट उनीहरु घाइते बनेका थिए । राजेशको टाउको समेत फुटेको थियो । प्रहरीले भने उनीहरुलाई नियन्त्रणमा लिएर पछि छाडिदिएको थियो । धरान उपमहानगरपालिकाले नै सर्दुखोलामा ठेक्का लगाएको थियो ।

