Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा तीन वर्षअघिदेखि चर्किदै ‘नक्कली मोही काण्ड’

हाम्रो कोशी आवाज
माघ ५ २०७८, बुधबार
धरानमा तीन वर्षअघिदेखि चर्किदै ‘नक्कली मोही काण्ड’

धरानः नक्कली मोही खडा गरेर महेन्द्र बहुमुखी क्याम्पसको जग्गा हडप्ने खोज्ने भूमाफियाविरुद्ध बुधवार धराने नागरिक अगुवाहरुले प्लेकार्डसहित मौन जुलुस प्रदर्शन गरेका छन् ।
छाताचौकदेखि भानुचौकसम्म गरिएको प्रदर्शनमा मेयर तिलक राई, पूर्व उपमेयर मीनकुमार सुब्बा पनि सहभागी थिए । क्याम्पसको जग्गा बचाउन विद्यार्थी संगठनहरुले छुट्टै आन्दोलन गर्दै आएका छन् । भूमाफियाको भण्डाफोर गर्दै दबाब दिन नागरिक आन्दोलनका लागि पूर्व नगर प्रमुख तथा पूर्व क्याम्पस प्रमुख कुमारबहादुर कार्कीको संयोजकत्वमा गठित नागरिक तहको जग्गा बचाऊ समितिले सडक आन्दोलन शुरु गरेको हो ।
मौन जुलुसमा सहभागीहरुले भूमाफियाविरुद्ध विभिन्न नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । भूमाफियाहरु हो होशियार, होशियार, महेन्द्र क्याम्पसको जग्गा बचाउन धराने जनता एक होऔं, नक्कली मोही खडा गर्नेहरुको भण्डाफोर गरौं, भूमाफियाहरु बाट महेन्द्र क्याम्पसको जग्गा बचाऔं आदि नाराहरु प्लेकार्डमा लेखिएका थिए ।
भानुचौकमा पुगेर धर्नामा उभिएका जुलुसका सहभागीहरुलाई सम्बोधन गर्दै संयोजक कार्कीले भने ‘धरानका नागरिकहरुले कुनैपनि हालतमा क्याम्पसको जग्गा हडप्ने भूमाफियाहरुको प्रयास सफल हुन दिने छैन् ।’ नागरिक आन्दोलनका थप कार्यक्रमहरु आगामी दिनमा अघि बढ्ने बताउँदै उनले हाल बढेको कोरोनाको नयाँ भेरियन्टको महामारीमा कमी आउने वित्तिकै आन्दोलन शसक्त हुने बताए ।

तीन वर्षअघिदेखि चर्केको ‘नक्कली मोही काण्ड’ मा क्याम्पसले भूमिसूधार मालपोत कार्यालय सुनसरीविरुद्ध कानुनी लडाई गर्न पुनरावेदन अदालतमा मुद्दा दायर गरेको छ । क्याम्पसको जग्गा बचाउन विद्यार्थी संगठनहरुले छुट्टै आन्दोलन गर्दै आएका छन् । नागरिक तहबाट भूमाफियाको भण्डाफोर गर्दै दबाब दिन नागरिक आन्दोलनका लागि समिति गठन गरिएको बताइएको छ ।
२०३४ सालमा क्याम्पसले खरिद गरेको पानी ट्याङी चौक धरान–११ स्थित १७ कट्ठा, १८ धुर जग्गामा ४१ वर्षपछि २०७५ मा आएर एकाएक नक्कली मोही खडा गरी भूमाफियाको गिरोहले क्याम्पसको जग्गा हड्प्ने दुष्प्रयासविरुद्ध नागरिक आन्दोलन थालिएको हो ।
समितिले क्याम्पसको जग्गामा कहिल्यै पाइला नटेकेको, प्रमाण पुष्टि नभएको अज्ञात व्यक्तिलाई मोही खडा गरेर भूमाफिया जग्गा दलालका गिरोहले पवित्र शैक्षिक संस्थाको सम्पती माथी कुदृष्टि गाडेको जनाएको छ । मौन जुलुसका विच बजारमा वितरण गरिएको समितिको पर्चामा ‘यस्ता कुत्सित कार्यमा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा संलग्न हुने व्यक्ति समुह पहिचान गरी सामाजिक कार्वाहीको दायरामा ल्याउन जरुरी भैसकेको छ ।’
मोही भनिएका डम्बरबहादुर घिमिेरको जग्गा खरिद गरेको २२ वर्षपछि २०५६ सालमा मृत्यु भैसकेको छ । उनको श्रीमतिको पनि २०६४ सालमा मृत्यु भइसकेको छ । मोही भनिएका व्यक्ति जीवित हुँदा कुनै किसिमको हकदाबी नभएको, भोग चलन समेत नभएको अवस्थामा मृत्यु भएको १९ वर्षपछि डम्बरबहादुरका हकवालाका रुपमा दाबी गर्ने यज्ञबहादुर क्षेत्री विलकुलै प्रायोजित पात्र भएको बताइएको छ ।
यसअघि समितिले बुधबार बिहान प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी र मेयर तिलक राईलाई क्याम्पसको जग्गा बचाउन भूमिका खेल्नका लागि आग्रह गर्दै ज्ञापनपत्र बुझाएको छ । संयोजक कार्कीका अनुसार सभामुखलाई उनकै धरान–१३ स्थित निवासमा तथा मेयर राईलाई उपमहानगरपालिका कार्यालयमा ज्ञापनपत्र बुझाइएको हो ।

प्रकाशित मिति: माघ ५ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend