Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा युवा सहभागितासम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

हाम्रो कोशी आवाज
माघ ६ २०७८, बिहिबार
धरानमा युवा सहभागितासम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

धरानः धरानमा ‘नेतृत्व र निर्णय’ र स्थानीय तहको योजना प्रक्रियामा युवा सहभागितासम्बन्धी कार्यविधि (मस्यौदा) विषयक एकदिने कार्यशाला गोष्ठी आयोजना भएको छ ।
सिएसडिसी सुनसरीको आयोजना, प्लान इन्टरनेशनल संयोजन र धरान उपमहानगरपालिकाको समन्वयमा कार्यक्रम आयोजना भएको हो । धरान उपमहानगरपालिकाका मेयर तिलक राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा धरान उपमहानगरपालिकाका प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख रत्नबहादुर कटुवाल, सामाजिक विकास महाशाखाकी प्रमुख प्रज्ञादेवी निरौला, राष्ट्रिय युवा परिषद सुनसरीका अध्यक्ष रोशराज रेग्मी, महिला सञ्जाल धरानकी नगर अध्यक्ष चेतना श्रेयङलगायत प्रत्येक महाशाखाका प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम भएको सिएसडिसकी सामाजिक सहजकर्ता सुजाता अधिकारीले जानकारी दिइन् ।
कार्यक्रममा बोल्दै धरान उपमहानगरपालिकाका मेयर राईले युवालाई नीति, निर्माण, योजनामा समानुपातिक ढङ्गले प्रतिनिधित्व गराइने धारणा राखे । उनले उपमहानगरपालिकाले जहिल्यै युवाको सहभागिता चाहिरहेको समेत बताए । उनले हरतरहले आफूहरुले युवाका गतिविधिलाई समेट्ने खालका कार्यक्रमलाई प्राथमिकता दिइने बताए ।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत पौडेलले प्रत्येक स्थानीय तहले युवा सहभागिता हुनुपर्ने बताए । शिक्षा महाशाखाका प्रमुख कटुवालले युवा लक्षित बजेटहरु पनि उपमहानगरपालिकामा आइरहेको जानकारी दिए । कार्यक्रममा राष्ट्रिय युवा परिषद सुनसरीका अध्यक्ष रोशराज, महिला सञ्जालकी अध्यक्ष चेतनालगायतले पनि स्थानीय तहले युवा लक्षित कार्यक्रममा जोड दिनुपर्ने बताए ।
कार्यक्रममा सिएसडिसी सुनसरीकी परियोजना संयोजक निशा पराजुलीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेकी थिइन् । उनले स्थानीय तहमा नीति, कार्यक्रम साथै कार्यविधि बनाउँदा युवा सहभागिता हुनुपर्ने बताइन् । उनले युवाका लागि नीति, युवा लक्षित कार्यक्रम, नेतृत्व विकास, सीपमूलक तालिम, प्रविधिमा जोड, विद्यालयबाट वञ्चित विद्यार्थी, विदेश जाने पुस्तालाई समेटिने खालको कार्यक्रम ल्याइनुपर्ने बताइन् ।
कार्यक्रमको सञ्चालन सिएसडिसीकी सामाजिक सहजर्का सुजाता अधिकारीले गरेकी थिइन् ।

प्रकाशित मिति: माघ ६ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend