बैंक तथा वित्तीय संस्थाहरुले सरकारले कोरोना नियन्ञण गर्न बनाएको स्वास्थ्य मापदण्ड पालना गरेको छैनन् । जसको कारण बैंक तथा वित्तीय संस्थाहरु कोरोना उत्पादन गर्ने थलो बन्दैछन् भन्दा फरक नपर्ला । धेरै भीडभाड हुने ठाउँ नै बैंक तथा वित्तीय संस्था नै हुन् । बैंक तथा वित्तीय संस्थाहरुमा रकम जम्मा गर्ने र रकम निकाल्नेको भीड उत्तिकै छ । त्यसैपनि अहिले लकडाउन होला कि वा अन्य कारणले गर्दा अहिले बैंक तथा वित्तीय संस्थामा भीड बढ्दो छ ।
त्यहाँ काम गर्न कर्मचारीहरुले पनि कुनैपनि स्वास्थ्य मापदण्ड पालना गरेको देखिँदैन । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका धेरै कर्मचारीहरु कोरोनाको चपेटामा परेका छन् । धेरै कोरोना संक्रमित भइसक्दा अधिकांशले कोरोना परीक्षण गर्न हिच्किचाउँछन् । सरकारले त्यस्ता संस्थामा अनुगमन नगर्दा भुसमा आगोझैं कोरोना फैलिरहेको छ ।
बैंकमा सेवा लिन जाने सेवाग्राहीको न तापक्रम नापिन्छ, न सामाजिक दुरी नै छ न त सेनिटाइजर । मुखमा मास्क नलगाएपनि बैंकभित्र छिरिरहेका छन् । सिधै छिरयो क्यास काउन्टरमा पुग्यो अनि कोरोना फैलायो । क्यास काउन्टरमा रकमको कारोबार गर्नेहरुले पनि स्वास्थ्य मापदण्डको पालना गरेको देखिँदैन । योभन्दा अघिल्लो कोरोना महामारीको बेला कतिपय विज्ञहरुले पैसाबाट पनि कोरोना सर्छ भनेर दाबी गरेका थिए । वृद्ध भत्ता लिन जाने, एकल कहिला भत्ता लिनेहरु, पेन्सन लिनेहरु पनि स्वास्थ्य मापदण्डको पालना नगरी बैंक पुगिरहेका छन् । साथै, उनीहरुले आफ्नो बालबच्चा लिएर पनि पैसा निकाल्न गएको पाइन्छ । जसले बालबच्चामा समेत कोरोनाको जोखिम बढाइदिएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा सुरक्षाको लागि बसेको गार्डहरुले पनि मास्क लगाएको देखिँदैन । एउटा गार्डलाई कोरोना लागेको रहेछ भने सबैमा सर्छ ।
यता, व्यापारीहरुले सरकारले बनाएको कुनै पनि स्वास्थ्य मापदण्ड पालना गरेको छैनन् । उनीहरु मास्क नै नलगाई व्यापार गर्छन् । साँझ त्यो पैसा जम्मा गर्न बैंक तथा वित्तीय संस्था जान्छन् । उनीहरुसँग भएको कोरोना बैंकका कर्मचारीलाई सार्छन् । यसरी एकअर्कामा कोरोना फैलाउने काम भइरहेको छ । सहकारीवालाहरुले बजार प्रतिनिधि खटाएर बजारबाट दैनिक पैसा उठाइरहेका छन् । एउटा बजार प्रतिनिधि दैनिक तीन सय पसलसम्म पैसा उठाउन पुग्छन् । एउटा पसलेलाई कोरोना लागेको रहेछ भने बजार प्रतिनिधिको कारण तीन सय अर्को पसलेलाई कोरोना सल्किन्छ ।
यसरी लापरबाही देखाउँदा कति कोरोनाका कारण मर्न सक्छन् सरकारले सोचविचार गरेको छैनन् । यसरी कोरोना फैलाउन सघाइरहेको बैंक तथा वित्तीय संस्थाहरुले हेलचेक्रयाइँ नगरोस् ।
अब लकडाउन नहोस् भनेर भन्नका लागि सबै सचेत हुनुको विकल्प छैन । मास्क, सामाजिक दुरी कायम गर्दै भीडभाड नगरौं, एकअर्कोबाट बचौं र बचाऔं ।
(अनुषा पत्रकारिता विषयमा अध्ययनरत् छिन्)