Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा पहिलोपटक ‘बिएसडब्ल्यु’ पढाइ हुने

हाम्रो कोशी आवाज
माघ ११ २०७८, मंगलबार
धरानमा पहिलोपटक ‘बिएसडब्ल्यु’ पढाइ हुने

धरानः धरानमा पहिलोपटक बिएसडब्ल्यु ( ब्याचलर इन सोसियल वर्क) सङ्कायमा पठनपाठन हुने भएको छ ।
त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा धरान–१ स्थित धरान मोडल कलेजमा यस्तो विषयको पठनपाठन हुन लागेको मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । कार्यक्रम कोअर्डिनेटर मोहन श्रेष्ठले यो विषय जीवनउपयोगी, व्यवहारिक र स्कोप पनि भएको विषय भएको बताए । ‘मानिस सामाजिक प्राणी भएकोले व्यवहारिक विषय हो यो, यो विषय अध्यापन गराइयो भने जीवनमा पनि उपयोग हुने र राम्रो स्कोप भएकोले यो विषय छानेर भित्र्याइएका हौं ।’ उनले भने ।
क्याम्पस प्रमुख प्रविन राईका अनुसार यो कार्यक्रम चारवर्षे कार्यक्रम हो । चारदिन पढाइ हुने र दुईदिन फिल्डवर्क, कार्यअनुभव गर्नेपर्ने हुन्छ । यो कार्यक्रम फिल्डवेश र प्राक्टिकल हुने भएकोले आम विद्यार्थीहरुले व्यवहारिक ज्ञान लिई सरकारी, गैर सरकारी संघसंसहरु, स्थानीय निकाय, विश्व विद्यालय, निजामी सेवा, स्वास्थ्यलगायतका क्षेत्रमा सहजै जागिर पाउन सक्ने साथै अन्तर्राष्ट्रिय अध्ययनका लागि समेत सहज हुने उनले जानकारी गराए ।
उनका अनुसार यो विषय फाइनान्सियल, स्थानीय निकाय, एनजिओ, आइएलजिओ, सामाजिक समस्या पत्ता लगाउन, विश्लेषण गर्न र समस्या समाधान गर्न जनशक्ति उत्पादन गर्न यो महत्वपूर्ण छ । ‘नेपालमा विकासोन्मुख समस्या धेरै रहेको र यहाँ सामाजिक समस्या छन्, सामाजिक समस्या पत्ता लगाउन, समस्या समाधान गर्न यो विषयले सहयोग गर्ने भएकोले धेरै प्रयास गरेर यो विषय धरानमा पहिलोपल्ट ल्याएका छौं, यो कलेजका लागि मात्रै नभएर धरानकै लागि गर्वको विषय हो ।’ उनले थपे ।
यो विषय ८ सय पूर्णाङ्कको हुन्छ । प्लस टु वा सो सरह तहमा जुनसुकै सङ्काबाट डी प्लस ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थीले पढ्न पाउनेछन् । चार वर्षे कोर्ष सक्नका लागि लागि २ लाख ३० रुपैयाँ लाग्ने जनाइएको छ ।
अध्यापक डा. भवानी शङ्कर भट्टराईले इटहरी, विराटनगर, काठमाडौं जाने विद्यार्थीको आवश्यकतालाई मध्यनजर गरेर यो कार्यक्रम लञ्च गरिएको जानकारी दिए । ‘धरानबाट २० जना बढी विद्यार्थी अन्य कलेज जाने र काठमाडौंसम्म पुग्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ’, उनले भने, ‘धरानका विद्यार्थी बाहिर जान नपरोस् भनेर यो कार्यक्रम ल्याएका हौं ।’
२०६६ सालमा स्थापना भएको धरान मोडल कलेजमा यसअघि त्रिविविकै बिबिएस, बिए, चार वर्षे तथा एक वर्षे बिएड कार्यक्रम पनि सफलतापूर्वक सञ्चालन हुँदै आएको क्याम्पस प्रमुख राईले जानकारी दिए । पत्रकार सम्मेलनमा प्रदेश १ मा उत्कृष्ट अङ्कसहित धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल, २ हजार बढी विद्यार्थीलाई दीक्षित गरिएको, बैंक, निजामती सेवा, सेना तथा प्रहरी, शिक्षण तथा प्राध्यापन, सनीय तथा संघीय क्षेत्र आदिमा विद्यार्थीले रोजगार प्राप्त गरिसकेको समेत जानकारी गराइयो । कार्यक्रममा २०७७ मा नुरज तिम्सिनाले ८१.२ प्रतिशत, सर्मिला बस्नेतले ७९.६ प्रतिशत, अरुणा मानन्धरले ७७ प्रतिशत, २०७२ मा सुनिता गुप्ताले ७५.२ प्रतिशत ल्याएर विशिष्ट श्रेणीमा उत्तीर्ण भइसकेको जानकारी दिइयो ।
यस्तै, रमेश प्रसाईजस्ता व्यक्ति पनि यही कलेजमा पठनपाठन गरेको र राजकुमार बस्नेतले ७४.८ प्रतिशत, नरेश आचार्यले ७२.२ प्रतिशत, निरज तिम्सिनाले ७१.४ प्रतिशत, स्वेता धमलाले ७०.४ प्रतिशत, अञ्जलीकुमारी गिरीले ७० प्रतिशत, रविन तामाङले ७० प्रतिशत ल्याएर प्रथम श्रेणीमा उत्तीर्ण भइसकेको समेत प्रिन्सिपले राईले जानकारी दिए ।

प्रकाशित मिति: माघ ११ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend