धरानः धरानमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
धरान-१३ इन्द्रेणीमार्गको कोशी राजमार्गमा दुर्घटना भएको हो । दुर्घटनामा बराहक्षेत्र–१ खारखोला निवासी वर्ष ३० का नविन विश्वकर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी धरानको पशुपतिचोकमा डेरा गरी बस्ने गरेको पाइएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक हेमराज ओलीले जानकारी दिए ।
बुधबार राति १ः०० बजे उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र १–०२–०४४ प १९१६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शिवधारामा रहेको इन्द्रेणी मार्गमा दुर्घटनामा परेको थियो । दुर्घटनामा परेको जानकारी प्रहरीकहाँ पुगेपछि प्रहरी पुगेर उनलाई एम्बुलेन्समार्फत् उपचारका लागि लगिएको थियो ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भई गम्भीर घाइते भएका उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा २ः०० बजे मृत्यु भएको जानकारी दिए ।
यस्तै, झापाको मेचीनगर नगरपालिका ७ मा दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।
मोटरसाइकल चालक झापा मेचीनगर ७ बस्ने वर्ष २८ को सन्तोष राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्व-पश्चिम राजमार्गको टोकला चिया बगानको गेट अगाडि पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मेचीनगर नगरपालिकाको मे१झ १७२ नम्बरको स्कारपियो गाडीले विपरीत दिशाबाट जाँदै गरेको मे९प ७९२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो ।
उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मेचीनगर ७ बस्ने वर्ष ४८ को राजकुमार प्रधान इलाका प्रहरी कार्यालय काकडभिट्टाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । स्कारपियोको लापरवाहीले दुर्घटना भएको प्रहरीले जनाएको छ ।

