Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा बाह्रखरी मिडियाले गल्फ प्रतियोगिता आयोजना गर्ने

हाम्रो कोशी आवाज
माघ १६ २०७८, आइतबार
धरानमा बाह्रखरी मिडियाले गल्फ प्रतियोगिता आयोजना गर्ने

धरानः काठमाडौंबाट सञ्चालन हुँदै आएको बाह्रखरी मिडियाले धरानमा गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ ।
आउँदो फागुन १३ र १४ गते धरानमा कर्पोरेट गल्फ प्रतियोगिता आयोजना गर्न लागिएको धरानमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । आइतबार धरानस्थित गल्फ कोर्षमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको हो ।
बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतीक प्रधानले पत्रकारितालाई नै बलियो बनाउन नै यस्तो कार्यक्रम आयोजना गरिएको बताए । उनले प्रदेश–१ को समृद्धिमा जोड दिएर यो कार्यक्रम गर्न लागिएको जानकारी दिए ।
यस्तै, इटहरीमा योङ आन्टरप्रिनुअर्ससँग मिलेर कार्यक्रम आयोजना गर्ने उनले जानकारी दिए । यस्तै, विराटनगरमा उद्योग संगठन मोरङसँग मिलेर इकोनोमिक समिट आयोजना गरिने उनले जानकारी दिए । संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहका सरकारको सहभागितामा कार्यक्रम गर्न लागिएको बताउँदै उनले यस कार्यक्रम सफलताका लागि पत्रकारहरूको सहयोग आवश्यक रहेको बताए ।
‘यो कार्यक्रमपछि बाह्रखरीले विश्वसनीयता प्राप्त गर्नेछ भन्ने विश्वास लिएका छौं’, उनले भने, ‘पत्रकारिकता बलियो बनाउनका लागि पनि हामीले यो कार्यक्रम आयोजना गरेका हौं ।’
पूर्व अर्थसचिव रामेश्वर खनालले बाह्रखरीले यसपल्ट गल्फ मात्रै नभएर समृद्धिको मार्गका विषयमा छलफल गरिने बताए । ‘अब राजनीतिबाट समृद्धि सम्भव भएन । जसले जहाँ सक्छ त्यहाँ लाभ लिने प्रवृत्ति बढेको छ । यो समस्या निजी क्षेत्रमा पनि छ । धनसंग्रह आफूले मात्रै गर्ने प्रवृत्ति देखिएको छ,’ उनले भने, ‘त्यसले समष्टिगत रूपमा विकास हुँदो रहेनछ । अब गर्ने भनेको निजी क्षेत्रले नै हो । अबको समृद्धि युवा उद्यमशीलताबाटै हुने हो । यो उद्यमीको केन्द्र पनि हो । तर, अब निष्ठावान् पौरखी उद्यमी होस्, लुटतन्त्रमा विश्वास नगरोस् । नवीन सोचमा आधारित भएर गर्ने हो भने सफलता प्राप्त गर्न सकिनेछ ।’
गोकर्ण गल्फ क्लबका प्रबन्धक दीपक आचार्यले प्रतियोगिताका बारेमा जानकारी गराएका थिए । उनले धेरै खेलाडीलाई यसअघि सहभागी गराउन नसक्दा दुई दिन आयोजना गरिएको बताए । उनले ९ होलको कोर्स भएकाले एउटा सेसनमा ५४ भन्दा बढी खेलाडीलाई सहभागी गराउन समस्या हुने हुँदा दुई दिन प्रतियोगिता आयोजना गर्नुपरेको बताए । उनले विभिन्न विधामा पुरस्कार दिइने बताए । ६० वर्षमाथिका विजयी खेलाडीलाई पनि पुरस्कारको व्यवस्था रहेको जानकारी गराउँदै यसको आकर्षण भनेकै गोल्डेन बल पाउने भएको बताए ।
त्यसैगरी, युवा व्यवसायी तथा लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निरन्जन श्रेष्ठ, व्यवसायी तथा गोकर्ण गल्फ कोर्सका अध्यक्ष सुहृद घिमिरे, धरान गल्फ क्लबका अध्यक्ष वीरेन्द्रविक्रम लिम्बूलगायतले पनि बोलेका थिए । उनीहरुले बाह्रखरीले यस्तो राम्रो कार्यक्रम आयोजना गरेर यस क्षेत्रकै गरिमा बढाइदिने काम गरेको बताएका थिए ।
यसअघि बाह्रखरीले सगरमाथाको काखमा गल्फ आयोजना गरेको थियो ।

प्रकाशित मिति: माघ १६ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend