धरानः धरान-१ स्थित धरान उच्चअन्तर्गत सञ्चालित वीरेन्द्र मेमोरियल कलेजका विद्यार्थीले देशभरमै उत्कृष्ट नतिजा ल्याएको भन्दै सम्मान कार्यक्रमको आयोजना गरिएको छ । बिएस्सी सिएसआइटी विषयको आठौं सेमेष्टारका विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएका हुन् ।
कलेजका विद्यार्थीमध्ये १६ जनाले डिष्टिङ्सन ल्याएको र १५ जनाले प्रथम श्रेणीमा उत्तीर्ण गरेको प्रिन्सिपल ताराबहादुर निरौलाले जानकारी दिए । उनका अनुसार यो देशभरमै उत्कृष्ट नतिजा हो । ‘अहिलेसम्म यतिको नतिजा प्रदेश १ मै पनि ल्याएको पाइएन’, उनले थपे, ‘सायद देशभरमै पनि हाम्रो नतिजा उत्कृष्ट छ भन्ने हाम्रो दावी हो ।’ उनले भने । उनले बिएस्सी सिएसआइटी जस्तो अलि बढी ‘हार्डवर्क’ गर्नुपर्ने विषयमा यतिको राम्रो नतिजा ल्याउनु गर्वको विषय भएको बताए ।
कलेजमा अध्ययरत् छात्रा सलिना तामाङले डिष्टिङ्सनमध्ये पनि उत्कृष्ट नतिजा ल्याएकी छिन् । उनले ८६ प्रतिशत नतिजा ल्याएको उनले जानकारी दिए । यस्तै, गरिमा राईले ८५.६ प्रतिशत, सनम लिम्बूले पनि सोही प्रतिशत, सुजन रोक्काले ८४.२, सागर पौडेलले ८३.४, युगहाङ लिम्बू ८३.२, कञ्चन रानाले ८३, दीपा बस्नेतले ८२.६, मनिष शाह ८१.६, सुशन कार्की ८०.८, अर्विन इजम, पुजन राई, विमल कार्की र सुष्मा लिम्बूले ८०.६ प्रतिशत ल्याएका छन् ।
यस्तै, तेजबहादुर श्रेष्ठ ८०.४, समिर श्रेष्ठ ८०, शम्भु बस्नेत ७९.२, आशिष रिजाल ७९, सचिन दाहाल ७८.४, सुरज पाण्डे सोही प्रतिशत, सुजना लिम्बू ७८, कुशल राई, भवेश श्रेष्ठ, दीपेश तामाङ, प्रतीक श्रेष्ठ, लक्ष्मी राई, नविन चौहानले ७७.८ प्रतिशत नतिजा ल्याए भने दबदष्ल श्रेष्ठ ७७.२, निवेश कोइरालाले ७५, विवेक सुहाङ ७५.२, महेन्द्र रिमालले ७२.८ प्रतिशत नतिजा ल्याएका छन् ।
विद्यार्थीको उपस्थितिमा उनीहरुलाई सम्मान कार्यक्रम समेत आयोजना गरिएको थियो । कलेजका प्रिन्सिपल ताराबहादुर निरौला, साइन्स कोअर्डिनेटर सुनिल भगत, बिएसस्सी सिएसआइटी कोअर्डिनेटर मुकेश शाहलगायत अध्यापकहरुको उपस्थितिमा उनीहरुमाझ केक काट्नुका साथै अविर र मालाले उनीहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रिन्सिपल निरौलाले धरानमा बिएस्सी सिएसआइटी पढ्ने कलेज धरानको वीरेन्द्र मेमोरियल एक्लो कलेज रहेको बताए । बिएस्सी सिएसआइटी पढ्दा विशेषतः जागिरमा सहजता हुने र अहिले प्रविधिको जमानामा पढ्नैपर्ने विषय भएको उनले जानकारी दिए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

















