धरानः नेपालको नम्बर वान प्रोफेसनल गल्फर शुक्रबहादुर राई टाटा स्टिल प्रोफेसनल गल्फ टुर खेल्न भारत प्रस्थान गरेका छन् ।
उनलाई मङ्गलबार धरान उपमहानगरपालिकाका मेयर एवं गल्फ एशोसिएसनका केन्द्रीय उपाध्यक्ष तिलक राई, वडा नं. १८ का वडाध्यक्ष नरेन्द्रकुमार राई (प्रविन) र नेपाली कांग्रेस धरानका सचिव हिमाल श्रेष्ठले खादा लगाएर जितको शुभकामनासहित विदाई गरेका छन् । उनलाई मेयर राईले व्यक्तिगतरुपमा भारु १ हजार र नेपाली १० हजार रुपैयाँको चेक हस्तान्तरण पनि गरे ।
मेयर राईले धरानको उत्पादन शुक्र नेपालकै नम्बर वान प्रोफेस्नल खेलाडी भएकोले सम्पूर्ण धरानेहरुले गौरव गर्नुपर्ने भन्दै खेल जीवनको प्रगतिको शुभकामना पनि व्यक्त गरे । मेयर राईले भने, ‘शुक्रबहादुर राई नेपालकै नम्बर वान प्रोफेस्नल खेलाडी हो । हाम्रो धरानको उत्पादन हो । धराने गल्फरहरुको उसमा धेरै ठूलो लगानी छ ।’

उनी इमान्दारपूर्वक नेपाल गल्फ एशोसिएसनको ट्रेनिङमा बसेर एमेच्योरमा पनि ६, ७ वटा देश नेपालको प्रतिनिधि गरेर खेल्न गइसकेका छन् । साफ गेममा पनि उनले मेडल ल्याएका छन् । विगत दुई वर्षदेखि व्यवसायिक खेलाडीको रुपमा खेलिरहेको छ । उनले भर्खरै धरानमा सम्पन्न सूर्य नेपाल इष्र्टन ओपन जिते भने र काठमाडौंको सेन्टर ओपन पनि जितेका थिए ।
भारतको गुजरातस्थित अहमदावादमा टाटा स्टिल प्रोफेस्नल गल्फ टुर अफ इण्डिया २०२२ क्वालिफाइ स्कुल आयोजना हुँदैछ । फेबु्रअरी १० तारिख रजिष्ट्रेशन हुनेछ भने ११ र १२ तारिख प्रि क्वालिफाइ हुनेछ । यस्तै, १४ मा पुनः रजिष्ट्रेसन भएर १५ र १६ मा भएको खेलमा कट जोगाउन सक्नेहरु १७ र १८ गते फाइनल खेल्न पाउँछन् । शुक्रले दिएको जानकारी अनुसार प्रि क्वालिफाइमा करिब १ सय २० खेलाडीहरु सहभागी हुनेछन् । तीमध्ये प्रि क्वालिफाईबाट ८० जना छनौट हुनेछन् । त्यसमध्ये पनि फाइनलको लागि ४०–५० जना मात्र फाइनलको लागि छनौट भएर फूल कार्ड पाउँछन् । शुक्रले फूलकार्ड पाउने खेलाडीले भारतमा हुने सबै प्रोफेस्नल गल्फ प्रतियोगिता खेल्न पाउने जानकारी दिए ।