धरानः अन्ततः धरानमा पूर्वपत्नी (सम्बन्ध विच्छेद भएर अलग्गै बस्दै आएकी भनिएकी) लाई बलात्कारको आरोप लागेका एक पुरुष थुनामुक्त भएका छन् ।
उनी सादा तारेखमा छुटेका हुन् । तारेखमा छुटेपछि उनले पत्रकार सम्मेलन नै आयोजना गरेका छन् । उनले ‘डिभोर्स भइसकेकी श्रीमती’ लाई बलात्कार गरेको भन्दै आफूलाई फँसाइएको नेपाल पत्रकार महासंघ सुनसरीको कार्यालय धरानमा आयोजिन पत्रकार सम्मेलनमा बताएका छन् ।
केही महिनाअघि धरान–१५ का भोजराज थापा (फडिन्द्र) विरुद्ध श्रीमतीले बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । त्यसपछि उनी पक्राउ नै परे । उनीविरुद्ध गत कार्तिक ९ गते जबर्जस्ती करणीको उजुरी दिइएको थियो ।
पक्राउ परेका थापालाई सुनसरी जिल्ला अदालतले मङ्सिर ७ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । आदेशविरुद्ध उच्च अदालत विराटनगर पुगेका थापालाई जबर्जस्ती करणी गरेको विश्वास गर्न सकिने मनासिव आधार नदेखिएको ठहर गरेपछि उनी थुनामुक्त भएका हुन् । उनी गत बिहीबार अर्थात् माघ २० गते थुनामुक्त भएका हुन् ।
उनले आफूले सबैलाई अंश पनि दिइसकेको र असोज २० गते अंशबारेको विवाद अदालतले टुङ्ग्याएको र त्यसको १९ दिनमा आफूलाई ‘झूटो मुद्दा’ लगाएर आफूलाई थुनाइएको बताए । ‘असोज २० पछि १९ दिनमा आफूलाई झुटो मुद्दा लगाएर साढे तीन महिना जेलमा राखियो’, उनले भने, ‘अहिले म पीडित बन्दै पत्रकार गुहार्दै आएको छु ।’
उनले अदालतबाट अंशबण्डा भएको र धरान–१५ स्थित घर छाड्नुपर्ने भएपछि आफूलाई आफ्नी पूर्व पत्नीले जबर्जस्ती करणी गरेको भनेर फँसाएको बताए । उनले पूर्वपत्नीले कुटपिट गर्ने, गालीगौलज गर्ने गरेको हुनाले असोज २१ गते पूर्वपत्नीविरुद्ध आफूले पनि घरेलु हिंसा मुद्दा दर्ता गरेको र श्रीमतीसँग सम्बन्ध विच्छेद, अंश मुद्दामा असोज २० गते मिलापत्र भएको थियो । त्यतिबेला धरान–१५ मा एक कट्ठा एक धुर जग्गा र त्यसमा बसेको घर बैंकको ऋण चुक्ता गरी अंश थापाले पाउने सहमति भएको थियो । मिलापत्रअनुसार गत मङ्सिर १५ गते पूर्व पत्नलिे घर छाड्ने सहमति बनेको थियो । तर सहमति बनेको १९ दिनमा पूर्व पत्नी, उनकी बहिनीलगायतले आफूलाई योजनाबद्ध ढङ्गले फँसाएको उनको दावी छ ।

उनले आफूलाई अदालतले घर दिएको तर अहिले घर नछाडेको, आफ्नो व्यक्तिगत गाडी, आइफोन, सुनको ब्रासेट, कम्प्युटर हडपेको दावी गरेका छन् । ‘म कारागारमै रहँदा पनि पटक–पटक धरानको जग्गा र खाना खाने खेत दिए कारागारबाट निकाल्ने नत्र कुहाइदिने धम्की दिँदै आएकी थिइन्’, उनले भने, ‘जसले मलाई फँसाइन्, उनले बारम्बार ‘ब्लाकमेलिङ’ गर्दै सम्पत्ति समेत नछाड्ने गरेको पाइएको छ ।’ उनले प्रहरीमा आफ्नो हडपेको सम्पत्ति फिर्ता माग गर्दै आग्रह गर्दा पनि सुनुवाई नभएको जाहेरी नै नलिएको गुनासो गरेका छन् ।
उनले पूर्वपत्नी र छोराछोरीलाई पनि अंश दिइसकेको बताएका छन् । उनले पूर्वपत्नीलाई भेडेटार भएको घर–घडेरी, बराहक्षेत्रमा भएको एक कट्ठा घडेरी, खाना खानको लागि बराहक्षेत्र चक्रघट्टीको १३ कट्ठा खेती पनि अंशमा दिइसकेको बताएका छन् ।
यसअघि उनलाई स्थानीय छिमेकी अम्बर तामाङ र मुरारी सुवेदीले घटनाबारे थाहा पाएका थिए । उनी गत कार्तिक ९ गते पूर्व पत्नीको घरमा काम विशेषले पुगेका थिए । त्यतिबेला उनलाई छेराछोरी, पूर्वपत्नीकी बहिनी मिलेर जबर्जस्ती तानेर लडाएर आफ्नो हातमा लगाएको सुनको ब्रासलेट, आइफोनलगायत खोस्न थालेपछि उनले गुहार मागेका थिए । त्यतिबेला अम्बर र मुरारी उनको घरमा के भएछ भन्दै पुगेका थिए । उनीहरु दुवैले नै उनलाई छुट्याएर घटना साम्य बनाएका थिए ।
अदालतको आदेशमा घटनास्थल पुगेका अम्बर र मुरारीलाई पीडित भनिएकीले आफूलाई जबर्जस्ती करण गरेको भन्ने उल्लेख नगरेको भनेर उनीहरुलाई गरेको कागजलाई उच्च अदालतले आधार मानेको छ । यस्तै, पीडितको परीक्षण प्रतिवेदनसमेतबाट पनि प्रतिवादीले अभियोग दावी बमोजिम जबर्जस्ती करणी गरेको विश्वास गर्न सकिने मनासिव आधार नदेखिएको उच्च अदालतको आदेशमा छ ।