धरानः धरान-१४ स्थित आइडियल बोर्डिङ स्कुलको बस दुर्घटना परेको छ ।
को१प ३३९९ नम्बरको विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरका अनुसार दुर्घटनामा १६ जना घाइते भएका छन् । ‘१४ जना विद्यार्थी र चालक र सहचालक गरेर जम्मा १६ जना घाइते भएको रिपोर्ट आएको छ’, उनले भने, ‘सबै विद्यार्थी सामान्य घाइते छन्, चालक र सहचालकको टाउकोमा चोट समेत लागेको छ ।’
उनीहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विजयपुर हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
विद्यार्थी पुरयाउन हिँडेको बस बसन्तटार भन्ने स्थानमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । सडकबाट अन्दाजी ३० फिट तल खसेर दुर्घटना भएको थियो । बस खस्दा रुखमा अड्किन पुगेको थियो । रुखका कारण ठूलो दुर्घटना टरेको स्थानीयबासीले बताएका छन् ।
दुर्घटनामा बसका चालक धरान-१४ का ३५ वर्षीय नारायण मगर, सहचालक २८ वर्षीय बीर्खबहादुर तामाङ घाइते भएका छन् ।
उनीहरुमध्ये चालकको टाउकोमा अलि बढी चोट लागेको छ । प्रतिष्ठानमा उपचाररत चालकको अहिले होस आइसकेको प्रहरीले जनाएको छ । घुम्तीका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
