धरानः धरानमा अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताविरुद्ध ५ वटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले बुधबार गरेको नेपाल बन्दको प्रभाव आंशिक परेको छ ।
बन्दका कारण जिल्लाको शैक्षिक क्षेत्रमा भने प्रभाव परेको छ । धरानमा स्कुल खुलेनन् । धरानमा प्याब्सन, एनप्याब्सनलगायतले बिहान छलफल गरेपछि स्कुल बन्द भएका छन् भने बजार खुलेका छन् । बिहानतिर कलेज लेवलका विद्यार्थी पुगेपनि राम्रोसँग पठनपाठन हुन सकेन । यस्तै, धरानबाट चल्ने यातायात पनि निर्वाधरुपमा चलिरहेका छन् । पहाडी क्षेत्र, पूर्व–पश्चिम चल्ने सवारी साधन निर्वाध चलिरहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ प्रदेश १ का संयोजक सरोज श्रेष्ठले जानकारी दिए ।
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले बुधबार देशव्यापी बन्द आह्वान गरेको थियो । एमसीसीविरुद्ध फागुन ५ गते (बिहीबार) देखि थप संघर्षका कार्यक्रमहरु घोषणा गरिने पनि जनाइएको छ ।






